Breaking News

भोटेकोशी बाढीमा १३ हजार ६७६ जनाको उद्धार, ५ हजार १३० अझै बेपत्ता

Banner

काठमाडौं, भदौ २६ –

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए ।

उनका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेपालभित्र र बाहिर उच्च तहबाट समन्वयलाई थप प्रभावकारी बनाइएको छ ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिँदै प्रवक्ता पौडेलले प्रधानमन्त्रीले शुक्रबार बिहान न्युजिल्यान्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेको बताए ।।

भारत, चीन र दक्षिण कोरियाबाट आएका सुरुङ उद्धार टोली नेपाली सेनासँगको समन्वयमा उद्धार कार्यमा खटिएका छन् । त्यस्तै, संयुक्त अरब इमिरेट्सको खोज तथा उद्धार टोली, मलेसियाको ‘स्मार्ट’ टोली र अस्ट्रेलियाको ‘डार्ट’ टोलीले पनि जारी उद्धार अभियानमा सहयोग गरिरहेका छन् ।

प्रभावित जलविद्युत् आयोजना तथा अन्य स्थानमा खोज तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । मित्रराष्ट्रबाट प्राप्त उपकरण, ड्रोन, भारवहन यन्त्र तथा अन्य उद्धार सामग्रीको प्रयोग भइरहेको छ ।

विपद्को भयावहता र जटिलताका कारण थप विशेष उपकरण तथा सामग्री आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । उच्च क्षमताका ड्रोन, लाइडार प्रणाली, बेली पुल, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि सञ्चालन हुने ड्रोन तथा उच्च क्षमताका पानी तान्ने पम्पलगायत उपकरणका लागि नेपालले अन्तर्राष्ट्रिय साझेदारसँग औपचारिक रूपमा सहयोग मागेको छ ।

पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६७६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३२० भन्दा बढी विदेशी नागरिक छन् ।

तर करिब ३५ देशका ६०० विदेशी नागरिकसहित ५ हजार १३० जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ । हालसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार ३८५ वटा शव फेला परेका छन् । खोज, उद्धार तथा शव पहिचानको काम जारी रहेकाले तथ्याङ्क थप अद्यावधिक हुन सक्ने मन्त्रालयले जनाएको छ ।

बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा बढी कुन देशका नागरिक छन् भन्नेबारे मन्त्रालयले अहिले नै विस्तृत जानकारी उपलब्ध नभएको जनाएको छ ।

प्रभावित समुदायमा राहत सामग्री पुर्याउन सडक, विद्युत् तथा दूरसञ्चार सेवा पुनःसञ्चालनका लागि सरकारले काम गरिरहेको छ ।

गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत देवीघाटस्थित तादी नदीमा एक्रो पुल जडान कार्य सम्पन्न भई सर्वसाधारणका लागि खुला गरिएको छ । प्रभावित क्षेत्रका विभिन्न स्थानमा सडकमा रहेका अवरोध हटाउने काम पनि जारी छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा ५७ वटा पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । ती पुलको पुनःस्थापनाका लागि भारत र चीनसँग बेली पुललगायत संरचना उपलब्ध गराउन अनुरोध गरिएको छ ।

भारतबाट एक बेली पुल प्राप्त भइसकेको तथा थप २२ वटा पुलमध्ये ६ वटा बेली पुल र १६ वटा ७० मिटर लम्बाइका एकल लेनका मोड्युलर स्टिल पुल उपलब्ध हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, चीनसँग ३० वटा बेली पुल माग गरिएकोमा १०० मिटर लम्बाइका दुईवटा पुल नेपाललाई हस्तान्तरण भइसकेका छन् । बाँकी पुल पनि क्रमशः प्राप्त हुने क्रममा रहेको र दुवै मुलुकसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

विपद्पछिको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार बाढीबाट करिब १.८ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, आर्थिक तथा अन्य नोक्सानी करिब ८८ करोड ३० लाख अमेरिकी डलर बराबर रहेको अनुमान छ ।

पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसमध्ये आगामी छ महिनाको तत्कालीन पुनर्निर्माण तथा पुनरुत्थानका लागि करिब ५ करोड ७६ लाख ७० हजार अमेरिकी डलर आवश्यक पर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि करिब ४।७१ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

मन्त्रालयले यो प्रारम्भिक तथा द्रुत मूल्याङ्कन भएकाले यसलाई अन्तिम तथ्याङ्क मान्न नसकिने जनाएको छ । विपद्बाट भएको पूर्ण क्षति र पुनर्निर्माणका लागि आवश्यक स्रोतको यकिन गर्न विस्तृत विपद्पछिको आवश्यकता मूल्याङ्कनसमेत अघि बढाइने बताइएको छ ।

फेला परेका शवको व्यवस्थापनका क्रममा सम्बन्धित निकायले आवश्यक न्यायिक तथा चिकित्सकीय प्रक्रिया पूरा गरेपछि पहिचान र परिवारलाई हस्तान्तरण गर्न सहज हुने गरी शवलाई अस्थायी रूपमा व्यवस्थापन गरेको मन्त्रालयले जनाएको छ ।

शव पहिचानका लागि डीएनए नमुना संकलन तथा परीक्षणको काम तीव्र पारिएको छ । भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका न्यायिक चिकित्साविज्ञ तथा फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको समन्वयमा काम गरिरहेका छन् । उनीहरूले शवका साथै मृतकका निकट पारिवारिक सदस्यबाट पनि डीएनए नमुना संकलन गरिरहेका छन् । यसैबीच, चिनियाँ अधिकारीले तातोपानी नाका हुँदै ७६८ नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गरेको मन्त्रालयले जनाएको छ ।

भोटेकोशी बाढीको विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषय थप प्रभावकारी रूपमा उठाउने जनाएको छ ।

प्रवक्ता पौडेलले नेपालले लामो समयदेखि जलवायु न्यायको विषय उठाउँदै आएको उल्लेख गर्दै पछिल्लो विपद्को सन्दर्भमा सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा यस विषयलाई परिणाममुखी र अर्थपूर्ण ढंगले प्रस्तुत गर्नुपर्ने बताए ।

नेपालले विषयसँग प्रत्यक्ष सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा निरन्तर उठाउने उनको भनाइ थियो । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>