चितवन विशेष
चितवनमा सयपत्री फूलखेतीको क्षेत्रफल वृद्धि

चितवन भदौ २६-
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल बढेको छ । गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री फूलखेती गरिएकामा यस वर्ष ४४ हेक्टरमा खेती गरिएको हो ।
चार्डपर्वलाई लक्षित गर्दै हरेक वर्ष सयपत्री फूलको क्षेत्रफल बढ्दै गएको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सयपत्री फूलखेतीका लागि टिनिस(१, थाई टिनिस, टिनिस(२, सुमति र कर्मा ५५५ जातका बिरुवा रोपिएका छन् ।
गत वर्ष जिल्लामा लगाइएको सयपत्रीखेतीबाट १३१ दशमलव चार मेट्रिकटन फूल उत्पादन भएको थियो । जिल्लाका सातै पालिकामा व्यावसायिक रूपमा चार्डपर्व लक्षित फूलखेती गरिँदै आएको छ । यहाँका पालिकामध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिमा सयपत्री खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।
थोरै जग्गामा राम्रो उत्पादन दिने भएकाले यहाँका कृषकहरु चार्डपर्व लक्षित सयपत्री फूलखेतीमा आकर्षित हुने गरेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय सरकारले नेपालमा उत्पादित वस्तुको आयातमा कडाइ गरेसँगै यस खेतीमा आकर्षण बढेको उहाँको भनाइ छ । यहाँ हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । यसलाई रोक्न सक्ने आँकलनसहित यसतर्फ किसानको आकर्षण बढेको हो ।
उहाँले भन्नुभयो, “गत वर्ष सयपत्रीले पाएको मूल्य र अभावलाई देखेर अहिले किसानको आकर्षण बढेको हो ।” नेपालमा उत्पादित सयपत्रीको माग बढ्न थालेको उहाँको भनाइ छ । रासस


























