खेलकुद
सुदूरपश्चिमसँग हारेपनि कर्णालीले चितवनसँग एलिमिनेटर खेल्ने

काठमाडौं, पुस १-
नेपाल प्रिमियर लिग (एनपीएल) लिगको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
तर, सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले कर्णाली याक्स पराजित भए पनि एनपीएलको प्लेअफमा प्रवेश गरेको छ । प्लेअफ समीकरणअनुसार सुदूरपश्चिमले १३ ओभरभित्र जित निकाल्दा काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउने थियो । तर, सुदूरपश्चिमले १६औँ ओभरमा जित निकालेको कारण नेट रनरेटमा कर्णालीले काठमाडौंलाई पछि पार्दै प्लेअफ यात्रा तय गरेको हो । अंक तालिकाको चौथो स्थान सुनिश्चित गरेको कर्णालीले सात खेलबाट आठ अंक जोडेपछि चितवन राइनोजसँग एलिमिनेटर खेल्ने भएको छ ।
यस्तै आज कर्णालीविरुद्ध सहज जित निकालेसँगै सुदूरपश्चिमले भने लिग चरणमा शीर्ष स्थान हासिल गरेको छ । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको छ ।