देश/प्रदेश

घर न घाटका भए भूमिडाँडावासी

Banner

काभ्रेपलाञ्चोक, असोज १७-

काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासी यतिबेला घर न घाटको बनेका छन् । उनीहरूका दुःखका दिन अहिले सुरु भएको भने होइन ।

पहिले ढुङ्गामाटोले बनाएका घर २०७२ सालको भूकम्पमा परेर भत्किएपछि जसोतसो गरेर पक्की घर नबनाएका पनि होइनन् तर तिनै पक्की घर रोसी खोलामा असोज ११ र १२ गते आएको बाढीपहिरोबाट ध्वस्त भएपछि अहिले उनीहरूको उठिबास भएको हो ।

रोसीको पानीबाट सिँचाइ हुने उर्वरभूमि र पशुपालनका लागि निकै उपयोगी स्थान भएकाले उनीहरू गाउँमै बसेर खेतीपातीमा रमाउँथे । पनौती, बनेपा र काठमाडौँको बजारनजिक भएकाले खेती र पशुपालन गरेर बसेका त्यहाँका स्थानीयको उन्नति त्यसैबाट हुने गरेको हो । २०७२ सालमा भूकम्पपछि आफूसँग भएको पँुजीमा रिनपान गरी केही थपेर राम्रो आवास बनाएका नागरिकसँग यतिबेला त्यही घर नहुनुको चोट छ । अहिले उनीहरूसँग बाँकी छ त केवल घर बनाउन लिएको ऋण मात्र ।

आफू बाँचेको खुसीभन्दा पनि ऋण कसरी तिर्ने भन्ने चिन्ता उनीहरूलाई छ । काभ्रेपलाञ्चोकमा बाढीले सबैभन्दा धेरै असर पारेको पनौती नगरपालिका–१२, भूमिडाँडा रोसी बजार यतिबेला खण्डहरमा परिणत भएको छ । सोही वडामा रहेको कोलाती बजार उजाडिएको छ ।

रोसी र कोलाती बजारमा मात्रै कम्तीमा १५० वटा घर बाढीले पुरेको प्रारम्भिक अनुमान छ । पशुपालनमा पारेको क्षतिको विवरण हालसम्म सङ्कलन हुनै सकेको छैन । असोज ११ गते बिहानसम्म सकुशल रहेको रोसी बजार खण्डहर बनेर भूमिडाँडाका नागरिक एकाएक भूमिहीन बनेका छन् ।

रोसी बजारका मात्रै ७० घर खोलाले बगायो । कोलाती क्षेत्रका घर पनि पुरिए । अधिकांश घर बस्न नहुने अवस्थाका भएको सोही वडाका नागरिक एवं पूर्वप्रदेशमन्त्री वसुन्धरा हुमागाईंले उल्लेख गर्नुभयो ।

रोसी बजारका श्याम विकले तीन छोरासहितको १५ जनाको परिवार सुकुमवासी बनेको दुखेसो गर्नुभयो । आफ्नो परिवारका तीन वटा घर खोलाले बगाएर अहिले सुकुमवासी बनेको श्यामले भक्कानिँदै भन्नुभयो, “अब घर बनाउँदाको बैङ्कको ऋण र आफन्तको सापटी कसरी फिर्ता गर्नु रु”

लक्ष्मण सुनारले स्थानीय सरकारले नागरिकको ज्यानभन्दा पनि खानीको ढुङ्गालाई प्राथमिकता दिएकाले यो समस्या आएको उल्खेख गर्नुभयो । अव्यवस्थित खानीका कारण नागरिकको उठिबास भयो । आफूसँग भएको सबै सम्पत्ति बेचेर घर बनाएका दिनेश बस्नेतको घर बाढीले बगाएपछि उहाँलाई ठुलो समस्या परेको छ । आफैँ शारीरिक रूपमा अशक्त उहाँले पनौती–१२ मा सबै सम्पत्ति बेचेर सोही स्थानमा तीन आना घडेरी किनेर घर बनाउनुभएको उहाँको परिवार नै सुकुमवासी बनेको छ । रोसी मात्रै होइन खानी क्षेत्रका रूपमा रहेको बेथानचोक–४ को सलान्दु बगर खण्डहरमा परिणत भएको छ । त्यहाँ भएका दर्जनौँ घर पुरिएका छन् । दर्जनौँ टिप्परसमेत पुरिएका छन् । ऋण गरेर दुःखले घर बनाएका नागरिकलाई घरको मात्र होइन अरूको पनि ऋणको बोझ छ ।

सलन्दु खोलाको किनारमा आधा दर्जन खानी छन् । खानीबाट बगेको लेदो र गेग्य्रानले बस्ती नै उजाड बनाएको एक स्थानीयले उल्लेख गर्नुभयो ।

पनौती–१२ मा रोसीबाट लेदो र गेग्य्रानसहित बगेको खोलाले पनौती–८ मा रहेको नेपालको तेस्रो जलविद्युत् आयोजनाको ड्याम बगाएको छ । पनौती नगरपालिका–१, २, ३, ८, ११ र १२ मा धेरै क्षति भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>