अन्तर्राष्ट्रिय

इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला

Banner

इरान, जेठ ९-

गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैका लागि प्रार्थना गर्ने कार्यक्रम रहेको तेहरान विश्वविद्यालय र वरपर राईसीका प्रशंसकहरूले उहाँको तस्वीर बोकेर भेला भएका इरानी सञ्चारमाध्यमले देखाएका छन् ।

अजरबैजानसँगको सीमामा बाँध परियोजनाको उद्घाटन समारोहमा सहभागी भएपछि उत्तरी इरानको ताब्रीज शहर जाने क्रममा आइतबार उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा राईसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

सरकारी टेलिभिजनले सोमबार बिहानै रायसीको निधन भएको घोषणा गरेको हो ।

खामेनीको उत्तराधिकारीका रूपमा सर्वोच्च नेताका रूपमा अपेक्षा गरिएका राईसी ६३ वर्षको हुनुहुन्थ्यो ।

राजधानीमा दिवङ्गत राष्ट्रपति रायसीलाई ‘सेवाका शहीद’ भनेर प्रशंसा गर्दै ठूल्ठूला ब्यानर टाँगिएका छन् भने उनीहरूले आफूहरू ‘विपन्नका सेवक’ नेताको अन्तिम बिदाइमा सरिक हुन उपस्थित भएको जनाएका छन् ।

विदेशी उच्चपदस्थ अधिकारीसमेतको सहभागिता रहने उक्त जुलुस विश्वविद्यालयबाट निस्केर शहरको मध्यभागमा रहेको विशाल एन्घेलाब स्क्वायरमा जाने योजना रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ताब्रिज शहर र कोम कोमको शिया लिपिक केन्द्रमा हजारौँको सङ्ख्यामा कालो पहिरनमा शोक मनाइरहेका मानिसको उपस्थितिमा दिवङ्गत राष्ट्रपति र उहाँको भ्रमण दलमा रहेको टोलीको अन्त्येष्टि संस्कार मङ्गलबारदेखि सुरु भएको हो ।

तेहरानबाट शवलाई दक्षिण खोरासान प्रान्तमा लगिने छ र त्यसपछि उत्तरपूर्वमा रहेको राईसीको गृह नगर मशादमा लगिनेछ, जहाँ बिहीबार साँझ इमाम रेजा दरगाहमा इस्लामिक परम्परा अनुसार अन्तिम संस्कारपछि उहाँको अन्त्येष्टि गरिनेछ ।

खामेनीले इरानी संविधान अनुसार राष्ट्रपति रायसीको मृत्युपछि उहाँको सम्मानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ भने ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई आगामी जुन २८ मा हुने निर्वाचनसम्म कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी तोक्नुभएको छ ।

इरानले शीर्ष आणविक वार्ताकार अली बागेरीलाई कार्यवाहक विदेशमन्त्रीको जिम्मेवारी दिएको छ । इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बागेरीले हेलिकप्टर दुर्घटनाको कारणबारे अनुसन्धान गर्न सुरक्षा निकायलाई आदेश दिनुभएको छ ।

इरानको आणविक गतिविधिलाई लिएर अमेरिकी प्रतिबन्धका कारण अर्थतन्त्र धरासायी भइरहेका बेला रायसी सन् २०२१ मा उदारवादी हसन रौहानीको स्थानमा राष्ट्रपति निर्वाचित हुनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>