अन्तर्राष्ट्रिय
सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकद्वारा पदबाट राजीनामा

बेलग्रेड, असोज १२ –
सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्दै आइतबार राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ । उहाँले अक्टोबर २५ मा हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) को नेतृत्व गर्न पद छाड्नुभएको बताउनुभएको छ ।
वुसिकको दोस्रो राष्ट्रपतीय कार्यकाल अर्को वर्ष मेमा सकिँदै थियो । संविधानले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन रोक लगाएको छ । सन् २०१२ देखि सत्तामा रहेको एसएनएसले विद्यार्थी नेतृत्वको विरोध आन्दोलनबीच आगामी निर्वाचनमा चुनौती सामना गरिरहेको छ ।
नोभी सादमा सन् २०२४ नोभेम्बर १ मा रेल स्टेसनको छाना भत्किँदा १६ जनाको मृत्यु भएपछि विद्यार्थीले न्याय र घटनाको जिम्मेवारी निर्धारणको माग गर्दै विरोध सुरु गरेका थिए । पछि उक्त आन्दोलन भ्रष्टाचार अन्त्य र कानूनको शासनका लागि व्यापक अभियानमा परिणत भएको हो ।
राजीनामा घोषणा गर्दै राष्ट्रपति वुसिकले आफूले राष्ट्रपतिको कर्तव्यबाट राजीनामा दिएको बताउनुभयो । राष्ट्रपति भवनबाहिर समर्थकलाई सम्बोधन गर्दै उहाँले भविष्यप्रति आशावादी रहेको र नयाँ विजयको अपेक्षा गरेको बताउनुभयो ।
वुसिकले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने निर्णयले आफ्नो पार्टीलाई विद्यार्थी आन्दोलनको सामना गर्दै निर्वाचनमा बलियो बनाउन खोजेको देखिएको छ । हालै उहाँले सरकार समर्थक सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा देशका विभिन्न भागको भ्रमण गरी सडक उद्घाटन, सहायता रकम तथा सस्तो औषधि वितरण र मतदातासँग भेटघाट गर्नुभएको छ ।
राष्ट्रपतिको पद छाडेपछि निकट सहयोगी तथा पूर्वप्रधानमन्त्री एना ब्रनाबिक कार्यवाहक राष्ट्रपति बन्नुहुनेछ । उहाँ हाल २५० सदस्यीय संसद्को अध्यक्ष हुनुहुन्छ । वुसिकका अनुसार संविधानअनुसार ९० दिनभित्र प्रारम्भिक राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गर्नुपर्नेछ ।
वुसिक र उहाँको पार्टीमाथि भ्रष्टाचार, सङ्गठित अपराधसँग सम्बन्ध तथा आलोचनात्मक सञ्चारमाध्यममाथि दबाब दिएको आरोप लाग्दै आएको छ । स्वतन्त्र सामाजिक अनुसन्धान ब्युरोले सार्वजनिक संस्थाको दुरुपयोग गरेको आरोपमा उहाँविरुद्ध उजुरीसमेत दिएको छ । वुसिकले ती आरोप अस्वीकार गर्नुभएको छ ।
विद्यार्थी समर्थित चुनावी सूचीमा प्राध्यापक, शिक्षक, खेलाडी तथा विभिन्न क्षेत्रका विज्ञ र अन्य व्यक्तिलाई समेटिएको छ । विद्यार्थी समूहले कानूनको शासन र भ्रष्टाचार अन्त्यको माग गर्दै देशभर अभियान सञ्चालन गरिरहेको छ । वुसिकका सहयोगी, समाजवादी पार्टी, युरोपेली सङ्घ (इयु) समर्थक विपक्षी गठबन्धन तथा अन्य साना समूह पनि निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
राष्ट्रपति वुसिकले आफूले पद छाड्नुअघि ४९ जनालाई माफी दिएको र तीमध्ये २३ जना विरोध प्रदर्शनका क्रममा मुद्दा चलाइएका व्यक्ति रहेको बतउनुभएको छ । उहाँले आफ्ना विरोधी तथा आलोचनात्मक सञ्चारमाध्यममाथि विदेशी प्रभावमा राज्यलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आउनुभएको छ । आइतबार उहाँले विदेशी शक्ति तथा देशभित्रका अज्ञात व्यक्तिले निर्वाचनको रात अशान्ति फैलाउने योजना बनाएको दाबी गर्नुभयो ।
युरोपेली सङ्घ (इयु) मा सदस्य बन्ने सर्बियाको प्रयास पनि वुसिकको नेतृत्वमा प्रभावित भएको छ । युक्रेनमा रुसको युद्धलाई लिएर रुसमाथि लगाइएका प्रतिबन्धमा सर्बिया सहभागी हुन अस्वीकार गर्दै आएको विषय त्यसको एउटा कारणका रूपमा उल्लेख गरिएको छ । रासस/एपी






















