सूचना-प्रविधि
विपद्का बेला नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्छः मन्त्री तिमिल्सिना

काठमाडौँ, कात्तिक १६ –
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभएको छ ।
गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अवरुद्ध भएको दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न योगदान गर्ने कर्मचारीलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उहाँले विपद्का बेला पाँच सेकेण्डअघि खबर पाउनेको जीवन बचेकाले दूरसञ्चार सेवालाई तयारी अवस्थामा राखिनुपर्नेमा जोड दिनुभयो । सबै सरोकार भएका सङ्घसंस्थाबीचको सहकार्य र समन्वयमा काम गरेकाले बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो ।
“विपद्का बेला टेलिकमका कर्मचारीले तोकिएभन्दा बढी काम गरेका छन्, जसका कारण बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा दिन सकियो । ऊर्जा मन्त्रालयले पनि युद्धस्तरमा काम गरेर ऊर्जाका संरचना बनायो, यसले पनि दूरसञ्चार सेवा पुनः सुरु गर्न सजिलो भएको हो”, मन्त्री तिमिल्सिनाले भन्नुभयो ।
नागरिकले टेलिकमबाट धेरै आशा गरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले निजी कम्पनीले जस्तै छिटो सेवा दिने क्रमलाई बढाउनुपर्ने बताउनुभयो । एउटा कर्मचारीले बोल्ने शब्दले कम्पनीको प्रतिष्ठामा प्रभाव पार्ने भएकाले यसतर्फ सचेत हुन पनि उहाँले निर्देशन दिनुभयो ।
प्रविधिले फड्को मारेको अहिलेको युगमा टेलिकममा सकारात्मक परिवर्तन देख्न खोजेको पनि मन्त्री तिमिल्सिनाले बताउनुभयो । बलियो, सबल र जनमुखी टेलिकम भए सबैको हित प्रवर्द्धन हुने भएकाले त्यस अनुरुप काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
संस्थाको सुशासन, सबलीकरणमा काम गरेर अर्कोपटक सयौँ कर्मचारीलाई सम्मान गर्न पाइने मन्त्री तिमिल्सिनाले विश्वास व्यक्त गर्नुभयो । टेलिकमलाई नागरिकको हितमा काम गर्ने कम्पनीका रुपमा विकास गर्न पनि उहाँले निर्देशन दिनुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले यसअघि प्रत्येक वर्ष उत्कृृष्ट काम गर्ने कर्मचारीलाई वार्षिकोत्सवका बेला सम्मान गर्ने गरिएकामा भोटेकोशी बाढीपछि छिटो सेवा दिन योगदान गर्नेलाई यसपटक सम्मान गरिएको उहाँले बताउनुभयो ।
मन्त्रालयका सचिव एवं टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिकम वायरलेस निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी, सम्मानितमध्येबाट इञ्जिनीयर निशान्त नेपाललगायतले विपद्का बेला अवरुद्ध भएको सेवालाई सञ्चालन गर्दाका अनुभव सुनाउनुभएको थियो ।
त्यसअघि मन्त्री तिमिल्सिनाले बबरमहलमा नवनिर्मित हुलाक प्रशिक्षण केन्द्र भवनको निरीक्षण पनि गर्नुभएको थियो । हुलाक सेवा विभागका महानिर्देशक र केन्द्रका कार्यालय प्रमुखले उहाँलाई नवनिर्मित भवनका बारेमा जानकारी गराउनुभएको थियो ।
























