क्रिकेट
सन्दीपको मुद्दामा बहस सकियो, फैसला आजै आउने

काठमाडौ,जेठ १-
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ। मंगलबारन्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा सबै पक्षको बहस आजै सकिएको उच्च अदालत पाटनका प्रवक्ता बिमल पराजुलीले जानकारी दिए।
बहस सकिएसाँगै आजै फैसला आउने उनका वकिलहरूले बताएका छन्। सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए। त्यसपछि जाहेरीवालका तर्फबाट सरकारी वकिल र नीजि वकिलले बहस गरेका हुन्। यसअघि पाँचपटक पेसी तोकेर पनि फैसला हुन सकेको थिएन।
गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ।























