अन्तर्राष्ट्रिय

सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारीलाई एयरलाइन्सले गर्‍यो बर्खास्त

Banner

नयाँ दिल्ली, वैशाख २७-

भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई कडा कारबाही गर्दै सबैलाई कामबाट निकालिदिएको छ । निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार पनि ठिक नभएको कम्पनी सम्बद्ध स्रोतले बताएको छ ।

दुई दर्जनभन्दा धेरै कर्मचारीहरूले सामूहिक बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका धेरै उडान रद्द गर्नुपरेको थियो । यसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको थियो ।

कुव्यवस्थापनको आरोपमा कर्मचारीले लिएका थिए सामूहिक बिदा

टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया एक्सप्रेसका केबिन क्रूले कम्पनीमा कूव्यवस्थापनको विरोधमा बुधबार सामूहिक बिदा लिएका थिए । दुई सयभन्दा बढी कर्मचारीले एक साथ बिदा लिँदा कम्पनीको उडान सञ्चालनमा गम्भीर असर परेको थियो भने कम्पनीले सयभन्दा बढी उडान रद्द गर्नुपरेको थियो । जसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ ।

मिडिया रिपोर्टका अनुसार मंगलबार एयर इन्डिया एक्सप्रेसको सञ्चालन लगभग ठप्प हुँदा करिब १५ हजार यात्रु प्रभावित भएका थिए । एयर इन्डिया एक्सप्रेसले खाडी देशहरूमा सबैभन्दा धेरै उडानहरू गर्दछ । केबिन क्रुको अभावका कारण भारतबाट खाडी मुलुक जाने धेरै उडान रद्द भएका थिए । एयर इन्डिया एक्सप्रेसले घरेलु र अन्तर्राष्ट्रिय रूटमा करिब ३६० ओटा उडान सञ्चालन गर्छ ।

सरकारले माग्यो प्रतिवेदन

ठुलो सङ्ख्यामा उडान रद्द भएर यात्रुहरूलाई भएको असुविधालाई विचार गरेर नागरिक उड्डयन मन्त्रालयले बुधबार एयर इन्डिया एक्सप्रेससँग स्पष्टीकरण मागेको छ । कर्मचारीहरूसँगको विवाद तुरुन्त समाधान गर्न पनि कम्पनीलाई भनिएका छ । कोच्ची, कालीकट, दिल्ली र बेंगलुरुलगायत धेरै विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको उडान अवरुद्ध भएको थियो । दिल्ली एयरपोर्टमा मात्रै बुधवार साँझ ४ बजेसम्म जम्मा १४ उडान रद्द भएका थिए । कम्पनीका उडानहरूमा कटौती मे १४ सम्म जारी रहन सक्ने बताइएको छ ।

कर्मचारी आन्दोलनको कारण के हो ?

एयर इन्डिया एक्सप्रेसको केबिन क्रूको कर्मचारी सङ्गठनले कम्पनीमाथि कुव्यवस्थापन र असमान व्यवहार गरेको आरोप लगाएको छ । कर्मचारीहरूले एयर इन्डिया एक्सप्रेस, एयर इन्डिया एक्सप्रेस कनेक्ट र विस्तारा एयरलाइन्सको विरोध गरिरहेका छन् । यसअघि विस्तारा एयरलाइन्सका पाइलटहरू सामूहिक बिदामा बस्दा एयरलाइन्सका १५० भन्दा बढी उडान अवरुद्ध भएका थिए । टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनलाई पठाइएको पत्रमा विमान सेवा कम्पनीको कर्मचारी सङ्गठनले कर्मचारीबिच व्यवहारमा समानता नभएको चर्चा गरेका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>