शिक्षा

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

Banner

काठमाडौँ, वैशाख २६-

नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर विदेशका शिक्षण संस्थामा अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई मान्यता दिने भएको छ ।

काउन्सिलले कोरोना महामारीको समयमा अनलाइनमार्फत विदेशका शिक्षण संस्थामा चिकित्सा शिक्षा स्नातक (एमबिबिएस तथा बिडिएस) अध्ययन गरेका विद्यार्थीलाई सहजीकरणका लागि मान्यता दिने भएको हो ।

काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भूसालले नेपालबाट छ महिना अनलाइनमार्फत लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एकसय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताउनुभयो । उहाँका अनुसार काउन्सिलले विदेशी कलेजमा पढे पनि अनिवार्य तालिमको व्यवस्था गरेको छ ।

यसअघि कोरोना महामारीको समयमा लामो समयसम्म घरमा बसेर विदेशका शिक्षण संस्थामा पढेका विद्यार्थीलाई मान्यता नदिएपछि काउन्सिलमा दर्ता हुन पाएका थिएनन् । “केही विद्यार्थी कोभिड–१९ सुरु हुनासाथ कक्षा सञ्चालन भएपछि त्यो विद्यार्थी विदेशमा बस्न पाएन र नेपालमा आएर अनलाइनमार्फत कक्षा लिनुपर्यो”, काउन्सिलका अध्यक्ष प्रा डा भूसालले भन्नुभयो, “त्यसरी नेपाल आएर अनलाइनमा छ महिना कक्षा लिएकालाई मान्यता दिने र छ महिनाभन्दा बढी अनलाइनमार्फत कक्षा लिएको छ भने एकसय शय्याभन्दा माथिका अस्पतालमा गएर विषयगत तालिम लिने व्यवस्था गरेको छौँ । त्यसपछि विद्यार्थीलाई काउन्सिलमा दर्ताका लागि सहभागी गराउँनेछौँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>