देश/प्रदेश

विश्व कला दिवसः कला बजारकै चिन्ता

Banner

काठमाडौँ, वैशाख ३-
पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो । अनि दाम नि ? यो प्रश्न उहाँलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उहाँ यसको एउटै उत्तर दिने गर्नुहुन्छ, “कला अमूल्य छ ।”

उहाँले भने जस्तै कला बहुमूल्य छ । कलाकारको मेहनत र सिर्जनाको मोलतोल गर्न कठिन छ । तर, बाँच्नकै लागि कला सिर्जना गर्ने कलाकारले कलाको मूल्य नराख्न सम्भव पनि छैन ।

कलाकार एससी सुमन भने कलाको मोल उसको मेहनतले झल्काउने बताउनुहुन्छ । आज विश्व कला दिवसका अवसरमा उहाँ बिहान ५ बजे नै ‘क्यानभास’ कोर्न सुरु गर्नुभयो । दिवस मनाउनु भनेको कामै नगरी बस्नु होइन भन्ने उहाँको सोच छ । यसै महिनामा एकल चित्रकला प्रर्दशनीको तयारीमा रहनुभएका उहाँ समसामयिक मिथिला कला चित्रकारको रुपमा प्रख्यात हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “कलाकारले जति मेहनत र धैर्यता राख्छ उति अमूल्य हुन्छ ।” यद्यपि पछिल्लो युवा पुस्तामा संघर्ष नै नगरी सफलताको आश गर्ने प्रवृत्ति देख्दा उहाँ खिन्न हुनुहुन्छ ।

कलाकार मनिष लाल श्रेष्ठले कला संरक्षण गर्न र व्यवसायिक बनाउन आफ्नै घरमा ग्यालरी सञ्चालन गर्दै आउनुभएको छ । ललितपुरस्थित ‘एमक्यूव’ ग्यालरी सञ्चालन गर्दै आउनुभएका उहाँ विगत केही वर्ष यता कला क्षेत्रको बजार खस्किएको अनुभव सुनाउनुहुन्छ ।

उहाँका अनुसार विगतमा ८० प्रतिशत नेपाली कलाकारले चित्र किन्दथे भने अहिले ८० प्रतिशत विदेशी पर्यटकको भरमा ग्यालरी धानिएको छ ।
नेपाली कलाका पारखी नेपाली नै हुनुपर्छ भन्ने कलाकार मनिषको मान्यता छ । “स्थानीय ग्राहक भए कलाको संरक्षण हुनुका साथै व्यापारमा स्थायित्व रहन्छ,” उहाँ भन्नुहुन्छ, “विदेशी हुँदासम्म मात्रै किन्ने हुन्, नहुँदा के गर्ने रु”

चित्रकार नरबहादुर विक सधै आयआर्जनकै लागि मात्रै चित्र कोर्नुहुन्न । समाजप्रतिको उत्तरदायित्वले पनि चित्र कोर्ने गरेको उहाँको भनाइ छ । यद्यपि चित्र बनाउँदा जुन मेहनत खर्चनुुहुन्छ त्यसअनुरुप आम्दानी भने नहुने उहाँले सुनाउनुभयो । “चित्र बिक्री गर्न निकै गाह्रो छ, त्यसैले कला र व्यापार दुवैका लागि काम गर्ने गरेको छु”, उहाँले भन्नुभयो ।

ग्यालरीमा चित्र सजिएका छन् । तर, त्यहाँसम्म पुगेर हेरिदिने दर्शक छैनन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीकी सङ्गीता थापाले विगतमा भन्दा यस वर्षमा कला व्यवसायको दृष्टिमा निराश अनुभुति गर्नु परेको बताउनुहुन्छ । “चित्र हेर्ने दर्शक आउन छाडे, आर्थिक मन्दीको प्रभाव ललितकला क्षेत्रमा परेको छ”, उहाँले भन्नुभयो ।

कलाकार एवं आकार आर्ट ग्यालरीकी प्रमुख अनिता भट्टराईले कलाको व्यवसायिकरण गर्ने शैली परिर्वतन गर्न जरुरी रहेको बताउनुभयो । छिमेकी मुलुक चीन, भारत जस्ता देशमा कलाको रचनात्मक प्रवद्र्धन भएको उहाँको बुझाइ छ । “कला बिकाउने नीति ल्याउनुपर्छ”, उहाँ भन्नुहुन्छ, “घरको भित्तादेखि बजारमा पाइने सामग्रीको उत्पादन समेत कलाले भरिएको हुन्छ ।” विभिन्न देश भ्रमण गरेर कलाको महत्व अवलोकन गर्नुभएकी उहाँले अन्तराष्ट्रिय विमानस्थलमा मात्रै चित्र, मूर्ति कलाले सजाउन सके कलाकारको महत्व बझुाउन सकिने उहाँ बताउनुहुन्छ ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी सञ्चालक संगीता थापाले आर्थिकमन्दीका कारण ग्यालरी नै धान्न मुस्किल परेको सुनाउनुभयो । विगत ३६ वर्षदेखि ग्यालरी सञ्चालन गर्दै आउनुभएका उहाँसँग कुनै बेला एक वर्षमा २० पटक चित्रकला प्रर्दशन गरेको अनुभव छ । सो सङ्ख्या अहिले घटेर १२ मा सीमित भएको छ ।

अहिले त ग्यालरीमा दर्शक आउनुमा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । बजारमा कला किन्ने संस्कार नै कम भएको बेला आर्थिक स्थिति खस्किएपछि कसले ‘आर्ट’ किन्छ रु भन्ने विषयमा कलाकार र ग्यालरी सञ्चालक चिन्तित छन् ।

प्राचीनकालदेखि नै मनोरञ्जनका प्रारम्भिक क्षेत्र रङ्गमञ्च र चित्रकला हुन् । मल्लकालमा राज दरबारमा अभिनयको जुन आर्कषक हुन्थ्यो, उत्तिकै चित्रकलाको महत्व थियो । अहिले परिस्थिति बदलिएको छ । रङ्गमञ्चमा युवाहरुले नाटक घर खोलेर उत्साहका साथ सञ्चालन गरिरहेका छन् । त्यही उत्साह चित्रकलामा भने कम देखिन्छ ।

कला समीक्षक एवं चित्रकार रमेश खनालका अनुसार कला बनाउने मात्रै होइन बचाउने नीति सोच्नुपर्ने स्थिति आएको छ । उहाँले लाजिम्पाटस्थित आफ्नै घरमै ‘अरुपर्ण’ आर्ट ग्यालरी सञ्चालन गर्दै आएनुभएकोछ ।

भाडा तिर्न नपर्ने ग्यालरीमात्रै टिक्न सक्ने अहिलेको स्थिति रहेको उहाँको अनुभव छ । ग्यालरी बचाउन चित्रकला सिकाउने, प्रशिक्षण दिने लगायतका अरु सहायक काम समेत गर्नुपर्ने उहाँको सुझाव छ । विशुद्ध चित्रै बेचेर ग्यालरी धान्न कठिन छ ।

कसले किन्छ चित्र
कला समीक्षक रमेश भन्नुहुन्छ, “चित्र किन्ने उद्योग हो ।” भोको पेटले चित्र बुझ्दैन । त्यसैले देशमा उद्योग धन्दा जति फस्टाउदै र सप्रिदै जान्छ, उति कला रोजाइमा पर्छ । नेपाली कलाकार, ग्यालरी सञ्चालक र सरकारले समेत चित्र किन्ने आर्कषक नीति बनाउन आवश्यक रहेको उहाँको तर्क छ ।

जोसँग पैसा छ, त्यसलाई हामीले आर्कषण गर्न सकेनौं । जसले कला बुझेको त्यसलाई आर्कषण गर्नुपर्छ । संस्थागत रुपमा पनि पैसा छ । “जस्तै बैंकसँग पैसा छ, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई कहिल्यै ग्यालरीसम्म ल्याउन सकिएन, त्यस्तै, हाउजिङ सञ्चालकलाई ग्यालरी बुझाउन सकेनौं । यिनै आधारबाट कला बच्ने हो”, उहाँले भन्नुभयो ।

कला मानव सभ्यतासँगै जोडिएको छ । नेपाली चित्रकलाको इतिहास हेर्ने हो भने, पौभा, मण्डला, पाटा९बेरुवा चित्र० तथा भित्ते चित्रहरु बनाउदै कलाको विकास भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक अध्ययन अनुसार नेपाली छाने तले शैलीका मन्दिर, शिखर शैलीका मन्दिर, स्तुपा, विहारहरु, वास्तुकलाका प्रतीक हुन् । यस्तै मानवीय जनजीवनसँगै विकसित हुँदै गएको कला राणाकालीन समयमा आउदा अलि फरक देखियो ।

यस कालमा नेपाली कलाको इतिहासमै छायाँचित्र बनाउने कला उत्कर्षमा पुगेको थियो । राणाहरुले सिकार गर्दाका दृश्य र भ्रमण गर्दा देखेका दृश्य कलामार्फत चित्रमा उतार्न लगाउन थालेको पाइन्छ । प्रजातन्त्रको उदसँगै कलामा पाश्चायत संस्कृतिका प्रभाव देखा परेको कला समीक्षक बताउँछन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपालमा कलाको विकास तीव्रगतिमा भइरहेको दाबी गर्नुहुन्छ । “कलाको क्षेत्रमा हामी अरु देशभन्दा अगाडि बढिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “सीमित स्रोत र साधानमाझ प्रतिष्ठानले अध्ययन अनुसन्धानमा सक्रिय हुँदै कलाकारलाई उत्साहित बनाउँदै आएकोछ ।” प्रतिष्ठानले कार्यथालेमै कला कार्यशाला आयोजना गरी गरेर आज विश्व कला दिवस मनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area