राजनीति

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति राजेश हमालः अर्थमन्त्रीले पदीय मर्यादा नाघेर परराष्ट्र नीतिको जग कमजोर पारे

०
Banner

काठमाडौं,कात्तिक ९-

अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लले पदीय मर्यादा नाघेर नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको जग कमजोर पारेको टिप्पणी गरेका छन्। हमालले आफ्नो फेसबुक पेजमा सोमबार स्टाटस लेख्दै अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमा कमजोर बनाउनुका साथै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई समेत उपहासको विषय बनाउने जोखिम रहेको बताएका हुन्।

भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले भारत विरोधी नेपाली राष्ट्रवादको युगको अन्त्य भएको बताएका थिए। वाग्लेले भनेका थिए, ‘हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन्। हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ। त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’सँग जोड्ने त्यो युग अब सकियो।’

वाग्लेको यो भनाईले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई उपहासको विषय बनाउने जोखिम अभिनेता हमालले देखेका छन्। नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै हमालले यसलाई व्यक्तिगत स्वविवेक वा राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्न नहुने टिप्पणी गरेका छन्।

हमालले भनेका छन्, ‘नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित छ। यसलाई व्यक्तिगत स्वविवेक वा राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्न मिल्दैन।’ कुनै पनि पदाधिकारीले अभिव्यक्ति वा सर्तमार्फत अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठामा आँच पुग्ने काम गर्न नहुने हमालले बताए।

नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक निकटता, इतिहास, संस्कृति तथा जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने इमानदार प्रयासलाई स्वागत गर्नुपर्ने बताएका छन्। तर, राष्ट्रिय अडान प्रस्तुत गर्दा नेपाली प्रतिनिधिहरूले कूटनीतिक विवेक, मर्यादा र सन्तुलन कायम गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा निकै महत्त्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील छ। यसलाई व्यक्तिगत तुष्टीकरणका संकेत वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्नुहुँदैन’, हमालले भनेका छन्। उनले नेपाल–भारत सम्बन्धसँग जोडिएका ऐतिहासिक अनुभव, नसुल्झिएका सीमा विवाद र आर्थिक निर्भरताका विषय पनि स्मरण गर्दै सरकारका तर्फबाट नेपालको धारणा स्पष्ट र एकरूपताका साथ स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत प्रस्तुत हुनुपर्ने धारणा राखेका छन्।

‘सरकारले आफ्नो धारणा स्पष्ट र एकरूपताका साथ स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत प्रस्तुत गर्नुपर्छ, भाषणबाजी र देखावटी प्रतिबद्धतामार्फत होइन’, हमालले उल्लेख गरेका छन्।  छिमेकी मुलुकसँगको मित्रता र नेपालको सार्वभौमिकताप्रतिको प्रतिबद्धता एकअर्काका विरोधी नभई परिपूरक जिम्मेवारी भएको उनको भनाई छ।

नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचानप्रति विश्वस्त र राष्ट्रिय हितबारे स्पष्ट रहेकै कारण भरपर्दो साझेदार बन्न सक्ने उनको धारणा छ। छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउँदा राष्ट्रिय स्वाभिमान र हितलाई केन्द्रमा राख्नुपर्ने भन्दै हमालले कूटनीतिक व्यवहारमा मर्यादा र सन्तुलन कायम गर्न आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>