राजनीति
भारतलाई लिएर अर्थमन्त्रीको भनाइ चाप्लुसीपूर्ण प्रस्तुति: राजेश हमाल

काठमाडौं, कात्तिक ९-
नायक राजेश हमालले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले हालै भारतलाई लिएर दिएको अभिव्यक्तिलाई ‘चाप्लुसीपूर्ण प्रस्तुति’ भनेका छन् । अर्थमन्त्रीले आफ्नो पदीय दायरा नाघेको उल्लेख गर्दै नेपालको लामो समयदेखिको परराष्ट्र नीतिको आधारलाई नै विकृत पार्ने जोखिम मोल्दै अभिव्यक्ति दिएको आरोप हमालले लगाएका छन् ।
“यस्तो चाप्लुसीपूर्ण प्रस्तुतिले हाम्रो सार्वभौमसत्ताको गरिमालाई कमजोर पार्ने मात्र होइन, नेपाल र भारतबीचको लामो समयदेखिको सम्बन्धलाई पनि उपहास गर्छ, जसलाई दुवै देशले उच्च सम्मानका साथ कायम राखेका छन्,” हमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
भारतको नयाँ दिल्लीमा एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुने क्रममा अर्थमन्त्री वाग्लले गत साता ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति दिएका थिए । यसै अभिव्यक्तिलाई लिएर हमालले टिप्पणी गरेका हुन् । “नेपालको परराष्ट्र नीति निरन्तर रूपमा राष्ट्रिय सार्वभौमसत्ता, गरिमा र दीर्घकालीन सिद्धान्तहरूको विषय रहँदै आएको छ र यो व्यक्तिगत विवेक वा राजनीतिक सुविधवादको विषय बन्नु हुँदैन । कुनै पनि पदमा बसेको व्यक्तिले नेपालको अन्तर्राष्ट्रिय कदलाई कमजोर पार्ने बयान वा सर्तहरू मार्फत यी आधारहरूसँग सम्झौता गर्नु हुँदैन,” हमालको भनाइ छ ।
नेपाल–भारत सम्बन्ध सधैँ भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा गहिरो रूपमा जोडिएको भनाइ उनको छ । यो सम्बन्धलाई सुदृढ गर्नुपर्ने सुझाव उनले दिएका छन् ।
“तसर्थ, यस देशको एक नागरिकका रूपमा मलाई दृढ विश्वास छ कि हामीले हाम्रा प्रमुख छिमेकीहरूसँग अझ बलियो सम्बन्ध बनाउन गरिने हरेक इमानदार प्रयासलाई स्वागत गर्नुपर्छ । तर, सँगसँगै हामी हाम्रा प्रतिनिधिहरूबाट परिपक्व कूटनीतिक विवेकको अपेक्षा गर्छौं, जसले हाम्रो राष्ट्रिय अडानलाई गरिमापूर्ण र सन्तुलित ढंगले प्रस्तुत गर्न सकोस्,” उनले भनेका छन् । हमालले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अति महत्त्वपूर्ण र रणनीतिक दृष्टिले अति अर्थपूर्ण रहेको उल्लेख गरेका छन् । यो सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको पात्र बन्ने खालका टिप्पणीहरूमा सीमित गर्न नमिल्ने धारणा उनको छ ।
“वर्तमान सरकारले केवल कोरा भाषण वा देखावटी कुरा गर्नुको सट्टा, स्थापित कूटनीतिक माध्यमहरू, तथ्य–प्रमाण र सौहार्दपूर्ण संवादका माध्यमबाट आफ्नो अडान स्पष्ट र एकरूपताका साथ राख्नु विशेष महत्त्वपूर्ण छ,” हमालको भनाइ छ ।
छिमेकीहरूसँगको मित्रता र आफ्नो सार्वभौमसत्ताप्रतिको निष्ठा एक–अर्काका विरोधी उद्देश्य नभएको उनले बताएका छन् । बरु, यी एक–अर्काका परिपूरक जिम्मेवारी भएको विश्वास उनको छ ।
“नेपाल एक भरपर्दो साझेदार बन्न सक्छ र वास्तवमा छ पनिस किनकि यो एक स्वतन्त्र राष्ट्र हो, जसलाई आफ्नो पहिचानमाथि विश्वास छ र आफ्नो राष्ट्रिय हितबारे स्पष्ट दृष्टिकोण छ,” हमालले भनेका छन् ।






















