देश/प्रदेश

७५ हजार लागतमा तनहुँका १२ वर्षीय निश्चलले तयार पारे विद्युतीय स्कुटर

Banner

तनहुँ, वैशाख ३-
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कुटर बनाउनुभएको छ । स्थानीय नेपाल पुलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामै विद्युतीय स्कुटर बनाएर सफल परीक्षण गर्नुभएको हो ।

महँगो इन्धनको विकल्पमा विद्युतीय स्कुटर बनाउने इच्छा जागेकाले सात दिनमै सफल भएको रिमालले बताउनुभयो । आफ्नो योजनामा बुबा नारायण रिमालले साथ दिनुभएकाले सम्भव भएको उहाँको भनाइ छ । एकपटक पूर्णरुपमा चार्ज गर्न करिव डेढ घण्टा लाग्ने र करिब १० किलोमिटर यात्रा तय गर्न सकिने स्कुटर बनाएको निश्चलको भनाइ छ ।

“विद्युतीय स्कुटर बनाउन सात दिन लाग्यो”, निश्चलले भन्नुभयो, “मानिस आएर हौसला दिनुभएको छ । झनै आत्मबल बढेको छ, अब विद्युतीय कार बनाउने योजनामा छु”, निश्चलले स्कुटरमा मोटर, चार्जर, स्कुटरको पाङ्ग्रालगायत उपकरण जडान गर्नुभएको छ ।

छोराले सानै उमेरदेखि पढाइको अलावा बिग्रिएको पङ्खा, घडी, मोबाइल मर्मत गर्दै आएको बुबा नारायणले जानकारी दिनुभयो । छोराले आवश्यक सामग्री अनलाइनमार्फत खरिद गर्न माग गरेकाले आफूले सोहीअनुसार सहयोग गरेको उहाँको भनाइ छ । छोराले विद्युतीय कार बनाउने इच्छा व्यक्त गरेको र आफूले सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनुभयो । “छोराले अब विद्युतीय कार बनाउँछु भनेको छ”, नारायणले भन्नुभयो, “अब कार बनाउन पनि सकेको सहयोग गर्छु ।”

नेपाल पुलिस स्कुलका प्रधानाध्यापक पुष्प रायक्षेत्रीले विद्यालयको अतिरिक्त कृयाकलापमा विद्युतीय उपकरण बनाउन निश्चल अग्रसर रहने गरेको बताउनुभयो । निश्चलको क्षमतालाई बढावा दिन विद्यालयले सृजनात्मक वातावरण तयार गर्ने गरेको प्रधानाध्यापक रायक्षेत्रीको भनाई छ ।

‘‘पाँच कक्षा पढ्ने १२ बर्षीय बालकले बनाएको विद्युतीय स्कुटर देखेपछि हामी पनि छक्क परेका छौँ”, प्रधानाध्यापक रायक्षेत्रीले भन्नुभयो, “उहाँको क्षमतालाई अझै कसरी प्रस्फुटन गर्न सकिन्छ भन्नेमा हामी अग्रसर रहनेछौँ ।”रासस/फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area