देश/प्रदेश

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दू–मुस्लिम

Banner

महोत्तरी, चैत २९-

इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन्भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।

नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति सरसामानको जोहो गर्न हिन्दूहरू व्यस्त छन् । महोत्तरीसहित मधेसका मिथिला क्षेत्रमा छ्यासमिस बसोबास रहेका बस्तीमा हिन्दू÷इस्लाम अनुयायी एकापसमा शुभकामना आदानप्रदानमा व्यस्त छन् ।

“इद मुवारक (शुभकामना) छ’, महोत्तरीको भङ्गाहा–४ रामनगरको मुसलमानटोल पुगेका हिन्दू युवक मुस्लिम समवयीलाई आलिङ्गन गर्दै शुभकामना व्यक्त गर्छन्”, यसैगरी मुस्लिम युवक आफ्ना हिन्दू साथीलाई नवरात्र, जुडशीतलको शुभकामना भन्दै सद्भाव व्यक्त गरेका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना दिन हिन्दूहरु घरघरैजसो पुग्दैछन् । “हामी मुस्लिम साथीलाई भेट्न उनीहरुको घरमा पुग्दैछौँ”, जलेश्वर–२ का ३० वर्षीय विनय विश्वकर्मा भन्नुहुन्छ, “ यहाँ खुसीको वातावरण छ ।”

जलेश्वर सामाजिक र धार्मिक सद्भावका लागि उदाहरणीय भएको नगरप्रमुख सुरेश साह सोनार भन्नुहुन्छ । “ कुनै मुस्लिमलाई इदको शुभकामना दिन उनका आफन्तभन्दा पहिले हिन्दू पुग्छन्, त्यस्तै हिन्दूका पर्वमा शुभेच्छा प्रकट गर्न मुस्लिम पुग्ने गरेका छन्”, “आफ्नो माटोको सहिष्णुताबारे नगरप्रमुख साह भन्नुहुन्छ”, यो मैथिल परम्परा र संस्कृतिको प्रभाव हो । जलेश्वरमा दसैँ महोत्सव र महाशिवरात्रिजस्ता पर्व र समारोहमा मुस्लिम युवा स्वयम्सेवी हुने गरेका उहाँ बताउनुहुन्छ ।

जिल्लाका उत्तर÷दक्षिण तथा पूर्व÷पश्चिम जता पुगे पनि हिन्दू र मुस्लिम युवा सराबरी आपसमा खुसी साटासाट गरीरहेका भेटिएका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउनुहुन्छ । “चाडपर्वमा देखिने हिन्दू÷मुस्लिमबीचको यो प्रेम र सद्भावले मलाई भावुक बनाउँछ”, उहाँ भन्नुहुन्छ, “छुट्याउनै सकिन्न, इदमा हिन्दू खुसी व्यक्त गरिरहेका हुन्छन्, दसैँ, छठ र फागुजमा मुस्लिम युवाले त्यसै गरेको देखिन्छ”, यो मिथिला संस्कृतिमात्र नभएर बुद्ध दर्शनको समेत प्रभाव भएको उहाँको भनाइ छ ।

मैथिल हिन्दू, मुसलमान,बौद्ध र इसाइ सबै धर्म परम्पराका छन् । यहाँको आपसी सद्भाव र धार्मिक सहिष्णुता चाहिँ वैदिक सनातन, इस्लामिक सुफी सन्त र बुद्ध दर्शन परम्पराको निरन्तरता भएको पाका मैथिल बताउँछन् । यो आपसी प्रेम, धार्मिक सद्भाव र सहिष्णुताले मैथिल हुनुको गर्वानुभूति भएको रामगोपालपुर–२ महनपुरका ६० वर्षीय इस्लाम धर्मावलम्बी महम्मद कादिर हुसैन बताउनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area