अर्थ

वाणिज्य बैंकहरूले व्यक्तिगत ब्याजदर घटाउँदा संस्थागतमा बढाए

०
Banner

काठमाडौं, चैत १-

बैंकहरूमा अधिक रूपमा लगानीयोग्य रकम थुप्रिएपछि वाणिज्य बैंकहरूले चैत महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । यद्यपि, डुब्ने हल्लाका कारण सकसमा परेको एनआईसी एसिया बैंकले भने चैतका लागि ब्याजदर बढाएको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपमा ब्याज घटाए पनि संस्थागत निक्षेप तान्नका लागि भने ब्याजदर बढाएका छन् । बैंकहरूले चैत महिनाका लागि व्यक्तिगत निक्षेपमा औसत शून्य दशमलव ५ प्रतिशत ब्याज घटाएका छन् भने संस्थागत निक्षेपमा शून्य दशमलव २६ प्रतिशत ब्याज बढाएका छन् ।

बैंकहरूले प्रकाशित गरेको ब्याजदर तालिकानुसार व्यक्तिगत निक्षेपतर्फ सबभन्दा बढी ब्याज दिने बैंकमा एनआईसी बनेको छ । उसले व्यक्तिगत निक्षेपमा ८ दशमलव ५४ र संस्थागतमा ७ दशमलव ५४ प्रतिशत ब्याज दिने भएको छ । यसअघि फागुनमा सो बैंकको ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७ दशमलव ५४ प्रतिशत पु¥याएको छ ।

यसैगरी, सिटिजन्स बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याज दिने भएको छ । ग्लोबल आईएमईले ७ दशमलव ६ प्रतिशत व्यक्तिगतमा र संस्थागतमा ६ दशमलव ६ प्रतिशत ब्याज दिने भएको छ । बढी ब्याज दिने बैंकहरूमा प्रभु, सानिमा, नबिल, कुमारी, सिद्धार्थ, लक्ष्मी सनराइज, हिमालयन परेका छन् । यी बैंकले चैत महिनामा ७ प्रतिशतभन्दा बढी ब्याज व्यक्तिगत निक्षेपमा प्रदान गर्नेछन् ।

गत फागुन महिनामा सबैभन्दा बढी ब्याज दिने बैंकमा एनएमबी, सिटिजन, हिमालयन, कुमारी, नेपाल एसबीआई, एनआईसी एसिया, माछापुच्छ«े, सिद्धार्थ, लक्ष्मी, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंक रहेका थिए ।

चैतका लागि सार्वजनिक ब्याजदरनुसार बैंकहरूको ब्याजदर औसतमा शून्य दशमलव ५०४२ प्रतिशत बिन्दुले घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ७ दशमलव ७५ प्रतिशत बिन्दु रहेको २० बैंकहरूको अधिकतम औसत ब्याजदर चैत महिनामा घटेर ७ दशमलव २५ प्रतिशत बिन्दुमा झरेको छ ।

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५ दशमलव ७४ प्रतिशत बिन्दु रहेको बैंकहरूको संस्थागत निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा शून्य दशमलव २६ प्रतिशत बिन्दुले बढेर ६ प्रतिशत पुगेको छ ।

चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेस्ट र एनएमबी बैंक रहेका छन् । यी दुवै बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ दशमलव ५ प्रतिशत बिन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव ५ प्रतिशत बिन्दुले घटाएका छन् । यसैगरी, नेपाल एसबीआई बैंकले पनि संस्थागतमा १ दशमलव शून्य ९ प्रतिशत र संस्थागतमा शून्य दशमलव शून्य ९ प्रतिशत घटाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि संस्थागतमा १ प्रतिशत ब्याजदर घटाएको छ भने संस्थागतमा स्थिर राखेको छ । याे समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>