Breaking News

विपदमा पत्रकारिताः छिटोभन्दा सही समाचारको जिम्मेवारी

०
Banner

अमर प्रधान–

विपद्का बेला पत्रकारिता केवल घटनाको प्रत्यक्षदर्शी बन्ने काम होइन। यो नागरिकको सुरक्षा, राज्यको जवाफदेहिता र समाजको विश्वाससँग जोडिएको जिम्मेवारी हो।

विपत्तिको समयमा एउटा गलत समाचारले भ्रम फैलाउन सक्छ, तर एउटा सही समाचारले मानिसलाई सुरक्षित ठाउँसम्म पुर्‍याउन सक्छ। त्यसैले विपद्मा पत्रकारिताको पहिलो धर्म छिटो समाचार होइन—सही, संवेदनशील र जिम्मेवार समाचार हो।

( नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो। प्राकृतिक प्रकोपको जोखिमको हिसाबले नेपाल बिश्वमा ११ औं स्थानमा आउँछ। बाढी, पहिरो, भूकम्प, हिमताल विस्फोट लगायतका प्राकृतिक विपद्का कारण वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ। विशेषगरी मनसुनको समयमा बाढीपहिरोका कारण सडक तथा राजमार्ग अवरुद्ध हुने, बस्ती डुबानमा पर्ने र जनजीवन प्रभावित हुने क्रम हरेक बर्ष दोहोरिन्छ। यसै बर्षको भदौ १० मा गएको हिम पहिरोका कारण भोटेकोसीमा आएको बिनासकारी बाढिले देशमा ठुलो मानवीय तथा भौतिक क्षति गरायो। १५ सय भन्दा बढीको ज्यान गयो भने ५ हजार भन्दा बढी अझै बेपत्ता छन् । यसैगरी २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा ८ हजार भन्दा बढी मनिसको मृत्यु भयो। ठूलो भौतिक क्षति पुर्यायो।

प्राकृतिक बिपदका समयमा कहाँ के भयोरु कति क्षति भयोरु बिपदमा मानिसहरु सुरक्षित छ कि छैनन् रु उद्धारका काम कहाँ र कसरी भइरहेको छरु आम नगरिकहरु यी प्रश्नको जवाफ खोजिरहेका हुन्छन् । मानिसको चासो समाचारमा हुन्छ।
ठिक यति बेला नै नागरिकका लागि पत्रकारिता केवल समाचार मात्र हुँदैन, आवश्यक सूचना र समाचार मानिसको जीवनरक्षाको माध्यम समेत बन्न पुग्छ। पछिल्ला भएका विपद्हरूले नेपालमा विपद्का बेलामा गरिने पत्रकारिताको आवश्यकता अनि महत्व झन बढेको छ। उता यस्तो बेलामा गरिने पत्रकारिताको चुनौति पनि उत्तिकै हुने गर्छ। बिपद पत्रकारिताको चुनौतीको बारेमा पत्रकार प्रतिमा सिलवालः ‘मेरो विचारमा विपद् पत्रकारिताका मुख्य दुई चुनौती हुन्—पत्रकारको व्यक्तिगत सुरक्षा र सूचनाको विश्वसनीयता। कठिन भौगोलिक अवस्था, सञ्चार तथा यातायातको अवरोधबीच पत्रकारले जोखिम मोलेर रिपोर्टिङ गर्नुपर्छ भने, विपद्का बेला अपूर्ण, ढिलो वा गलत सूचनाका कारण समाचारको विश्वसनीयता प्रभावित हुन सक्छ।
विपद् पत्रकारितालाई घटना घटेको समयमै सीमित गर्नुहुँदैन।’

पत्रकार सिलवाल अगाडि भन्नुहुन्छः ‘यसलाई तीन चरणमा हेर्नुपर्छ—विपद् पूर्व जोखिम, पूर्वसूचना र जनचेतनास विपद्का बेला जीवनरक्षक सूचना, उद्धार र आधिकारिक तथ्यको जिम्मेवार सम्प्रेषणः र विपद्पछि राहत, पुनर्स्थापना, पुनर्निर्माण तथा जवाफदेहिताको निरन्तर निगरानी।त्यसैले विपद् पत्रकारिता केवल घटना विवरण होइनः यो पत्रकारको सुरक्षा, सूचनाको शुद्धता र निरन्तर सामाजिक उत्तरदायित्वसँग जोडिएको संवेदनशील तथा चुनौतीपूर्ण पत्रकारिता हो।’

विपद्ले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको ध्यानसमेत खिच्ने गर्छ। ठूलो विपद्का बेला विश्वका चर्चित सञ्चारमाध्यमका पत्रकार समेत घटनास्थल पुग्छन्। भदौ १० को भोटेकोशीको बिनासकारी बाढीको कभरेज गर्न चर्चित अन्तर्राष्ट्रिय सन्चार माध्यमका दर्जनौं पत्रकार घटनास्थल पुगेका थिए। यस्तो बेला नेपाली सञ्चार माध्यमसँगै अन्तर्राष्ट्रिय मिडिया बिच पनि समाचार प्रस्तुतिमा एकखाले प्रतिस्पर्धा समेत हुने गर्दछ। बिपदको यस्तो संवेदनशील घडीहरुमा संयमित र तथ्यमा आधारित रिपोर्टिङ गर्नु पत्रकारको धर्म हुन आउँछ ।

तर कतिपय मिडियामा ‘ब्रेकिङ’, ‘एक्सक्लुसिभ’ समाचार दिने नाममा र बढीभन्दा बढी भ्युज बटुल्ने लोभले हतारमा समाचार सम्प्रेषण गर्दा समाचारको संवेदनशीलता र विश्वसनीयतामाथि प्रश्न पनि उठ्ने गरेको छ। विशेषगरी सामाजिक सञ्जालको विस्तारले पत्रकारिताको चुनौती झन बढाएको छ। विपद्का बेला सूचना जति महत्वपूर्ण हुन्छ, गलत सूचना त्यति नै खतरनाक हुन सक्छ।सामाजिक सञ्जालहरुमा आधिकारिक पुष्टि नभएका सूचनालाई समाचारका रूपमा प्रसारण गर्ने प्रवृत्ति बढदो छ।
छिटो समाचार दिने होडमा पत्रकार स्वयं पनि यस्तो सूचनाको शिकार बन्न सक्छन्। त्यसैले विपद्का बेला पत्रकारका लागि पहिलो हुने भन्दा सही हुने महत्वपूर्ण हुन्छ। यस्तो बेलामा बिश्वसनिय पत्रकारिताको लागि पत्रकारहरु छिटो हुने होडबाजीमा नलागी सहि समाचार दिनु पर्ने पत्रकार महासङ्घ चितवनका अध्यक्ष बसन्त पराजुली बताउनुहुन्छ।

अध्यक्ष पराजुलीको भनाई छः ‘विपद्का बेला गलत वा अपुष्ट सूचनाले आम मानिसमा त्रास फैलाउनुका साथै उद्धार तथा राहत कार्यमा अवरोध पुर्‍याउन सक्छ। सामाजिक सञ्जालबाट फैलिने अफवाहले मानिसलाई गलत निर्णय लिन बाध्य पार्दै ज्यानसमेत जोखिममा पार्न सक्छ। त्यसैले विपद्को समयमा पत्रकारले हरेक सूचनाको दोहोरो पुष्टि गरी मात्र सार्वजनिक गर्नुपर्छ। पत्रकार आचारसंहिताको अक्षरशः पालना गर्न सके भ्रमपूर्ण सूचना रोक्न ठूलो योगदान पुग्छ।’

विपद् पत्रकारिता भनेको घटना भएपछि घटनास्थल पुग्नु मात्र होइन।विपद् अघि नै पत्रकारले सम्भावित जोखिमबारे नागरिकलाई सचेत बनाउन सक्छन्। कुन बस्ती बाढीको जोखिममा छ ? कुन सडक पहिरोको जोखिममा छ ? स्थानीय तहको तयारी कस्तो छ ? उद्धारका लागि आवश्यक साधन पर्याप्त छन् कि छैनन् ? जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने मानिसका लागि सुरक्षित स्थान कहाँ छन् ? यस्ता प्रश्नमा नियमित रिपोर्टिङ गर्न सकियो भने पत्रकारिता विपद् भएपछि क्षतिको विवरण सुनाउने माध्यम मात्र रहँदैन, विपद् न्यूनीकरणमा योगदान गर्ने माध्यम समेत बन्न पुग्छ।

पत्रकारिताले बिपद अघिको जोखिम न्यूनीकरण र पुर्बतयारीमा कस्तो भुमिका खेल्न सक्छ भन्ने सन्दर्भमा पत्रकार रमेशकुमार पौडेल–‘विपद्का कारण र जोखिमबारे पत्रकार जानकार हुनुपर्छ। भूकम्पबाहेक धेरै प्राकृतिक विपद्को पूर्वानुमान सम्भव भएकाले पूर्वानुमानका पूर्वाधार, उपकरण र सरकारी संयन्त्रको क्षमता पत्रकारले खोजबिन गर्नुपर्छ। आधिकारिक र सटिक पूर्वसूचना जनमानसमा पुर्‍याउनुका साथै सरकारी संयन्त्रलाई सक्षम बनाउन पत्रकारले खबरदारी गर्नुपर्छ। साथै, विपद् पूर्वतयारीमा जुटेका निकायको तत्परता, स्रोत–साधन र समुदायले पूर्वसूचनालाई कसरी आत्मसात गरिरहेको छ भन्ने विषयमा पनि पत्रकारको ध्यान जानुपर्छ। यसले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।’

विपद्का बेला समाचार सम्प्रेषण गर्न हतार गर्नु भन्दा पत्रकारले प्राप्त हरेक सूचनालाई जाँच गर्नुपर्छ।मृत्यु, घाइते, बेपत्ता र विस्थापितको संख्या तत्काल परिवर्तन हुन सक्छ। त्यसैले प्रारम्भिक विवरणलाई अन्तिम तथ्यका रूपमा प्रस्तुत गर्नु हुँदैन।
समाचारमा स्रोत खुलाउनुपर्छ—प्रहरीले के भन्यो ? स्थानीय प्रशासनको विवरण के छ ? अस्पतालले कति घाइतेको उपचार गरिरहेको छरु उद्धार टोलीको भनाइ के छ ? स्थानीय सरकारको तथ्यांक कति छ ? सम्भव भएसम्म दुई वा बढी विश्वसनीय स्रोतबाट तथ्य पुष्टि गर्नुपर्छ।

विपद् रिपोर्टिङमा अर्को महत्वपूर्ण पक्ष हो—मानवीय संवेदना। घर बगेको मानिस, परिवारको सदस्य गुमाएको व्यक्ति वा घाइते अवस्थामा रहेको पीडितलाई क्यामेरा अगाडि बोल्न दबाब दिनु पत्रकारिता होइन। पीडितसँग प्रश्न गर्दा पत्रकारले संवेदनशील हुनुपर्छ। एउटै प्रश्न पटक–पटक सोधेर पीडा दोहोर्‍याउन बाध्य बनाउनु हुँदैन। विपद्को तस्वीर वा भिडियो खिच्दा पनि संवेदनशीलता आवश्यक हुन्छ। शव, घाइते व्यक्ति वा शोकमा रहेका परिवारको तस्वीर केवल भ्युज बढाउन प्रयोग गर्नु उपयुक्त हुँदैन। पीडितको दुःखलाई भ्युजमा बदल्ने होइन, उनीहरूको वास्तविक आवाज र आवश्यकता सम्बन्धित निकाय सम्म पुर्याउनु नै असल पत्रकारिता हो।

बिपदमा पत्रकारिताको जिम्मेवारीको बारेमा पत्रकार महासंघ चितवनका पुर्ब अध्यक्ष कृष्ण गिरि यसो भन्नुहुन्छ(ूविपद्मा पत्रकारिताको मुख्य जिम्मेवारी समाचार दिनु मात्र होइन, सही समयमा सही सूचना दिएर जनधनको रक्षा गर्न सहयोग गर्नु हो। त्यसैले तथ्य, प्रमाण र विश्वसनीयता यसको आधार हुन्। विपद्का बेला अप्रमाणित वा भ्रामक सूचनाले त्रास बढाउनुका साथै गलत निर्णय गराएर मानवीय क्षति निम्त्याउन सक्छ। पत्रकारले खतरा, सुरक्षित स्थान, आवश्यक सावधानी र सहयोगका स्रोतबारे पुष्टि गरिएको, स्पष्ट र उपयोगी सूचना प्रवाह गर्नुपर्छ। मिसइन्फर्मेसन (गलत सूचना) र डिसइन्फर्मेसन (दुश्प्रचारजन्य सूचना) प्रभावितलाई जोगाउँदै विपद् पत्रकारिताको मूल मन्त्र तथ्य, समय र जनसुरक्षा हुनुपर्छ।’

आम नगरिकलाई सुसूचित गर्न पत्रकारको लागि विपद्को तत्कालिन समयको समाचार सम्प्रेषण गर्नु महत्वपूर्ण छ नै, बिपद पछि पनि पत्रकारको भुमिका झनै महत्वपूर्ण हुन्छ।

विपद्पछि राहत तथा पुनर्निर्माणमा भएका काम वा त्यसमा भएका ढिलाइ, कमजोरी वा सम्भावित अनियमिततालाई तथ्यका आधारमा सार्वजनिक गर्न पत्रकारहरु चुक्नु हुदैन। जसले गर्दा राज्यका निकायलाई जवाफदेही बनाउन मद्दत गर्छ।

विपद् रिपोर्टिङमा पत्रकार स्वयंको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण विषय हो। जोखिम भएको क्षेत्रमा सावधानी नअपनाउदा पत्रकार स्वयं जोखिममा पर्न सक्छ।घटनास्थलमा जानुअघि जोखिमको मूल्यांकन गर्नुपर्छ। सम्भव भएसम्म स्थानीय प्रशासन, प्रहरी, उद्धार टोली र स्थानीय व्यक्तिसँग समन्वय गर्दा राम्रो हुन्छ।समाचारभन्दा पत्रकारको जीवन ठूलो हो। पत्रकार सुरक्षित रहे मात्र उसले अर्को दिन पनि समाजलाई सूचना दिन सक्छ।

अन्त्यमा, विपद्का बेला पत्रकारिता केवल घटनाको प्रत्यक्षदर्शी बन्ने काम होइन। यो नागरिकको सुरक्षा, राज्यको जवाफदेहिता र समाजको विश्वाससँग जोडिएको जिम्मेवारी हो।

विपत्तिको समयमा एउटा गलत समाचारले भ्रम फैलाउन सक्छ, तर एउटा सही समाचारले मानिसलाई सुरक्षित ठाउँसम्म पुर्‍याउन सक्छ। त्यसैले विपद्मा पत्रकारिताको पहिलो धर्म छिटो समाचार होइन—सही, संवेदनशील र जिम्मेवार समाचार हो।
लेखकः सिनर्जी एफ एम ९१.६ का संस्थापक स्टेशन मेनेजर हुनुहुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>