देश/प्रदेश
न्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान र महेश नेपालको फरक मत

काठमाडौं, असोज २०-
न्यायपरिषद्को सदस्य समेत रहेकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालतका चार न्यायाधीश सिफारिसमा असहमतिसहित फरक राय लेखेकी छन् ।
मनोमानी रूपमा न्यायाधीशहरूको नाम छनोट गरिएको र त्यसक्रममा विधि, प्रक्रिया केही पनि नहेरिएको भन्दै उनले फरक मत राखेको न्यायपरिषद् अर्का सदस्यले बताए ।
‘उहाँले यसरी त हुँदैन, बीचबाट नाम छनोट गरेपछि केही न केही आधार त देखाउनुपर्छ भन्नुभयो,’ ती सदस्यले भने, ‘हामीले उहाँहरूको नाम चयन गर्ने, तर केही पनि आधार देखाउन नसक्ने हो भने मेरो सहमति रहँदैन भनेर फरक मत लेख्नुभयो ।’
न्यायपरिषद्का ती सदस्यका अनुसार, न्यायाधीश प्रधानले चारवटा आधार देखाएर फरक मत राखेकी थिइन् । पहिलो, संविधान, ऐन तथा न्यायका मूल्यमान्यता विपरीत नामहरू सिफारिस गर्न खोजिएको भनेर उनले फरक मत राखेकी हुन् । दोस्रो, सिफारिसका क्रममा पारदर्शी, वस्तुपरक र विश्वासिलो आधार दिन नसकेको भन्नेमा उनको विमति थियो । न्याय परिषद् सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिसमा लिखित विमति राखेको खुलेको छ । परिषद् सदस्य नेपालले अनलाइनखबरसँगको प्रतिक्रियामा आफूले सिफारिसमा फरक मत राखेको बताए ।























