देश/प्रदेश
डिडिसीका महाप्रबन्धक झामाथि कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

काठमाडौं, फागुन ४-
दुग्ध विकास संस्थानका महाप्रबन्धक माथि कार्यकक्षमै दुर्व्यवहार भएको छ। आज (शुक्रबार) कार्यालय खुलेपछि केही व्यक्तिहरूले महाप्रबन्धक सञ्जिब झामाथि कार्यकक्षमै पुगेर मोसो दलेर दुर्व्यवहार गरेका हुन् । उनीहरूले महाप्रबन्धकमाथि दुर्व्यवहार गरिएको भिडिओ फेसबुकबाट सार्वजनिक समेत गरेका छन्।
महाप्रबन्धक झामाथि दुर्व्यवहार गर्ने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ता रहेको बताइएको छ। दूध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा-बढुवामा आर्थिक लाभ लिएको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेको लगायतका आरोपमा झालाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले बताए ।
यसअघि सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि उक्त संगठनले मोसो दलेको थियो । यसै साता डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै आलिताल गाउँपालिका-३ का जयसिंह महरलाई आइतबार दिउँसो कालोमसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको थियो ।

























