राजनीति
कांग्रेस महाधिवेशनः महामन्त्रीको मतपेटिका संख्यामा विवाद, गणनामा ढिलाइ

काठमाडौं, असोज २४-
कांग्रेसको १५औं महाधिवेशनमा उपसभापति र महामन्त्रीका लागि भएको मतदानका बाकसको संख्यामा विवाद भएको छ । महामन्त्री र उपसभापतिका लागि मतपेटिका संख्या सातवटा वा आठवटा भन्ने विषयमा विवाद भएको हो । उक्त विवादपछि मतगणना पनि प्रभावित भएको छ ।
महाधिवेशन प्रतिनिधिले गरेका मतदानको बाकसको संख्यामा महामन्त्रीका उमेदवारहरूले प्रश्न उठाएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उपसभापति र महामन्त्री पदका उम्मेदवारको मत गणना अपरान्हबाट सुरु गर्ने भने पनि अहिलेसम्म सुरु भएको छैन । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक रहेका वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान बाकस कति थिए भनेर उमेदवारबाट प्रश्न आएपछि केही समय ढिलाइ हुन पुगेको जानकारी दिए ।
‘‘मतगणनाका लागि सातवटा बाकस एक ठाउँमा जम्मा गरिएको छ । बाकस आठवटा थिए भनेर महामन्त्रीका उमेदवारहरूबाट कुरा आएका कारण अलिकति ढिलाइ भएको हो,’’ संयोजक खड्काले बाह्रखरीसँग भने, ‘‘कति भन्ने त मतपेटिकाबाट पनि थाहा हुन्छ । महामन्त्री र उपसभापतिका लागि तीन ठाउँमा मतगणना एकसाथ गर्न लागिएको छ । उपसभापति तीन पदका निम्ति १२ जना चुनावी मैदानमा छन् । तीन महामन्त्री पदका निम्ति ११ जना चुनावी प्रतिस्पर्धामा छन् । सभापति गगन थापा निर्वाचित भएका छन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलातर्फ पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

























