चितवन विशेष
आन्तरिक तथा मौसमी बसाइँसराइबारे पत्रकारलाई प्रशिक्षण

चितवन, असोज २४-
आन्तरिक तथा मौसमी बसाइँसराइको अवस्था र यसले पारेको प्रभावबारे समाचार रिपोर्टिङ गर्न पत्रकारलाई सचेत गराउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेमा पत्रकारका लागि कार्यशाला आयोजना गरिएको छ।
‘दिगो आर्थिक विकासका लागि आप्रवासीहरूलाई सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्रबार र शनिबार आयोजित कार्यशालामा बसाइँसराइको अवस्था, आप्रवासीहरूको जीवनस्तर तथा नेपालमा आप्रवासनको प्रकृति, वर्तमान अवस्था र प्राथमिकताका विषयमा छलफल गरिएको थियो।
कार्यशालामा परियोजना संयोजक ऋषिकेश ढकाल, राजु अधिकारी र नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारीले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा उनीहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, सेवा–सुविधा, प्राकृतिक प्रकोप तथा सामाजिक र राजनीतिक लगायतका कारणले मानिसहरू बसाइँसराइ गर्न बाध्य भएको बताएका थिए । बसाइँसराइका कारण व्यक्ति, परिवार तथा समुदायको जीवनस्तरमा पर्ने प्रभावलाई तथ्यमा आधारित भएर समाचारका माध्यमबाट उजागर गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो।
कार्यशालामा विशेषगरी इच्छाकामना गाउँपालिकामा बसाइँसराइको अवस्था, आप्रवासीहरूको जीवनस्तर र बसाइँसराइले स्थानीय सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको प्रभावबारे रिपोर्टिङ गर्ने विषयलाई प्राथमिकता प्रशिक्षकहरुले अनुरोध गरेका थिए । परियोजनाले इच्छाकामना क्षेत्रमा बसाइँसराई सँगै पोषण सुरक्षा तथा कृषि काम गर्दैै आएको छ ।

























