चितवन विशेष
उनेपा अध्यक्ष घिसिङले भोटेकोशी बाढीमा मृत्युवरण गरेकाको सम्झनामा देवघाटमा गरे पूजापाठ

चितवन, असोज २४–
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले हजारौं बेपत्ता छन् । हजार बढीको शव फेला पर्यो । यो दुःख घटना भएको आज ४५ दिन पूरा भएको छ । यहीँ दिन पारेर उज्यालो नेपाल पार्टी (उनेपा)ले चितवनको देवघाटस्थित संगम भूमिमा दिवंगत आत्माहरूको शान्ति र पितृ मोक्षको कामना गर्दै विशेष अनुष्ठान पूजापाठ गरेको छ । केन्द्रीय अध्यक्ष कुलमान घिसिङको विशेष उपस्थितिमा ११ जना लामा गुरु र ११ जना पण्डितहरुले पूजापाठ गरेका हुन् ।
बाढी, पहिरो तथा विभिन्न किसिमका प्रकोपहरूबाट ज्यान गुमाएका व्यक्तिहरूको सम्झना यो पूजा गरिएको अध्यक्ष घिसिङले बताए । ‘यहीँ देवघाट भएर हजारौंको शव बगेर गयो, यहीँ ठाउँमा आएर आज दिवंगत आत्माको स्मरणमा पूजापाठ गरेका हौं’–अध्यक्ष घिसिङले भने ।

कार्यक्रममा भगवद्गीता पाठ तथा लामा गुरुहरूद्वारा बौद्ध परम्पराअनुसार पूजापाठ र प्रार्थना गरिएको थियो। अध्यक्ष घिसिङले पूजापाठ गर्दै देशमा शान्ति, समृद्धि, सुशासन र विभेदसहितको समाज निर्माण होस् भन्ने कामना समेत गरिएको बताए । आगामी दिनमा पनि जलवायु परिवर्तनको असरबाट नेपालजस्ता गरिब देशहरूमा परेको प्रभावलाई मध्यनजर गर्दै वातावरण संरक्षण, पूर्वाधार निर्माण र तटीय क्षेत्रको सुरक्षा तथा बस्ती विकासका मुद्दाहरूमा विशेष ध्यान दिने अध्यक्ष घिसिङले प्रतिबद्धता जनाए ।
उज्यालो नेपाल पार्टीले बाढी तथा विपद्को सुरुवाती दिनदेखि नै रेस्क्यु र रिलिफ (उद्धार तथा राहत) अपरेशनमा पार्टीका साथीहरूलाई सक्रिय रूपमा जोड्दै आएको थियो। अध्यक्ष घिसिङ घटनालगत्तै त्रिशुली पुगेका थिए । उनी रसुवा पुगेर हाइड्रो पावरको सुरुङमा उद्दारका लागि सहजीकरण गरेका थिए ।
पूजापाठ कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव दिवाकर अर्याल, प्रवक्ता राजेन्द्र अवस्थी, पार्टीका चितवन अध्यक्ष, पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



























