राजनीति
म आफैं पक्राउ परें भने पनि कोही नआउनुहोलाःगगन थापा

काठमाडौं, असोज २४-
नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको छ भने त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्। पार्टी केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा शुक्रबार पक्राउ परेको विषयतर्फ सङ्केत गर्दै उनले व्यक्तिमाथि लागेको व्यक्तिगत आरोप वा दागको भारी पार्टीले नबोक्ने बताए।
सभापति पदमा पुनः निर्वाचित भएपछि शनिबार दिउँसो पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेता(कार्यकर्तालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनी शासनमा कांग्रेस दृढ रहेको बताए। सञ्चारमाध्यममा आएका समाचारबारे चर्चा गर्दै उनले भने, ‘लेखिदिनुभएकोमा, जानकारी दिनुभएकोमा तपाईंहरूलाई धन्यवाद। हाम्रो केन्द्रीय सदस्य चुनाव लड्नुभएको विनिता खड्का पक्राउ पर्नुभएको रहेछ। कुनै पनि व्यक्तिमाथि लागेको आरोपहरू उसैले खण्डन गर्ने हो। दाग लागेको छ भने आफैंले मेटाउने हो।’
सभापति थापाले राजनीतिक विषयभन्दा बाहिर गएर व्यक्तिगत कारणले आफूमाथि नै कुनै दाग लागेमा समेत पार्टीका एकजना कार्यकर्तालाई पनि बचाउमा नआउन आग्रह गरे।

























