राजनीति
बैंकको ऋण लिनेले तिर्दिन भन्न मिल्दैनः अर्थमन्त्री

काठमाडौं, मंसिर ६-
अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । शंखधर दिवसको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन् ।
ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत भएको उनको भनाइ थियो । उनले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताए ।
उनले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्दै समस्या परेकाहरुको लागि राज्यले सहजीकरण गर्न तयार रहेको बताए । पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै उनले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए ।
कोभिड–१९ महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको उनको भनाइ थियो । उनले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताए ।
सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने उनको विश्वास थियो ।
बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, सेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको उनले बताए । हिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको छ भने त्यो गलत हुने उनले बताए । उनले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

























