राजनीति

वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

०
Banner

काठमाडौँ, कात्तिक १० –

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथाः माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै यही कात्तिक १२ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त एजेन्डा सार्वजनिक गरिने बताउनुभयो ।

कोप–३१ मा नेपालको जलवायुजन्य विपद्का अनुभव, प्रभाव तथा चुनौतीलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न विशेष प्याभिलियन स्थापना गर्ने तयारीबारे छलफल भएको थियो । उक्त प्याभिलियन सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घीय निकायबाट सहयोग अपेक्षा गरिएको मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।

भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायहरूको प्रतिनिधित्व र सहयोग आवश्यक रहेकामा मन्त्री चौधरीले जोड दिनुभयो ।

कोप–३१ मा युवा पुस्ता, विशेषगरी जेनजी युवा तथा सञ्चारकर्मीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सहयोगका विषयमा पनि संयुक्त राष्ट्रसङ्घीय निकायहरूसँग छलफल भएको थियो ।

बैठकमा जलवायु परिवर्तनका असर न्यूनीकरण, नेपालको जलवायुजन्य विपद्का अनुभव र चुनौतीलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तथा सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय र नागरिक समाजबीच सहकार्य सुदृढ गर्ने विषयमा जोड दिइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>