राजनीति

असहाय, अनाथ र अशक्तलाई सम्बोधन गर्न कानुन तर्जुमा गरिन्छ: प्रधानमन्त्री

Banner

काठमाडौँ, मङ्सिर ४-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमले आज यहाँ आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अनाथ, अशक्त, जोखिममा परेका नागरिकको संरक्षणका लागि कानुन नै बनाएर कार्यान्वयन गरिने बताउनुभयो ।

यस्तै, सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो ।

मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावश्यक सेवामा आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने विश्वास दिलाउँछु ।”

मानव सेवाको भावनाद्वारा ओतप्रोत भई आश्रमले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै प्रधानमन्त्री दाहालले यस महाअभियानको सफलताको कामना गर्नुभयो ।

सातवटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्रहरु सञ्चालन गरी खुला आकाशमुनि रहेका सात हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन गराएको प्रधानमन्त्रीको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>