राजनीति
विजयी गराउने मतदाताको सम्मानमा रास्वपाले घरदैलो कार्यक्रम गर्ने

काठमाडौँ, कात्तिक ३०-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रम गर्ने भएको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा रास्वपाले घरदैलो कार्यक्रम गर्न लागेको हो । घरदैलो कार्यक्रम नजिकिएसँगै रास्वपाले तयारीलाई तीव्र दिएको छ ।
रास्वपाका सह-महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन् । ‘घरदैलोमा गत निर्वाचनमा विश्वास गरेर मत दिनुहुने मतदातालाई धन्यवाद दिन्छौँ । साथै हामीले आफ्नो प्रतिबद्धता भुलेका छैनौँ । प्रतिबद्धताअनुसार अगाडि बढिरहेका छौँ भनेर भन्छौँ,’ उनले भने ।
रास्वपाले कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार घरदैलो कार्यक्रम गर्न लागेको हो । २०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो ।

























