राजनीति
सर्वोच्चको अन्तरिम आदेशः प्रभु साहकी पत्नीको मेयर पद तत्काललाई जोगियो

काठमाडौं,कात्तिक २४-
आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी रिना साहको मेयर पद तत्काललाई जोगिएको छ। रौतहटको मौलापुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निर्वाचित साहको पद तत्काल कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार साहलाई नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारबाही गर्न दिनू भनी विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो। साहले दल त्याग गरेको भन्दै प्रमुख पद स्वतः रिक्त रिक्त हुनुपर्ने भनी एमालेले निवेदन दिएपछि निर्वाचन आयोगले असोज २९ गते पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशित गरेको थियो।
उनले आफूले दल त्याग नगरेको दाबीसहित रिट लिएर सर्वोच्च पुगेकी थिइन्। उनको पक्षबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू भिमार्जुन आचार्य‚ वीरेन्द्र साहलगायतले बहस गरेका थिए। नेकपा एमालेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेशकुमार नेपाल, ईश्वरी भट्टराई, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए।

























