राजनीति
युट्युवर मनोज पक्राउपछि महेश बस्नेतले भनेः अरुको चरित्र हत्या गर्ने गिरोहको अन्त्य गर्न सबै एकजुट हौं

काठमाडौं, कात्तिक २३-
नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका युट्युवर मनोज मानव आपराधिक गिरोहका मुख्य योजनाकार भएको बताएका छन् ।
मनोज पक्राउपछि बस्नेतले फेसबुकमा स्टाटस् लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् । केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरुको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन् ।
विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । मनोज स्टार अनलाइन टिभीका सञ्चालक हुन् ।
उनको लेखेका छन्ः
नेपाल प्रहरीले बिभिन्न जनसमुदायलाई धेरै समयदेखि धम्काउने तर्साउने बिबिध खालका बार्गेनिङ गर्ने एउटा अपराधी गिरोहको एउटा मुख्य योजनाकार मनोज मानब भन्ने युटुबे पत्रकारलाइ आज नेपाल प्रहरीको साईबर व्यूरोले गिरफ्तार गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । यसलाई अधिकतम कानुनी कारबाही होस् । यो र यस्ता धेरै अपराधिक व्यक्तिहरुबाट उत्पीडनमा पर्नु भएका सम्पूर्ण पीडितहरूलाई पनि न्यायको खोजी गर्नको निमित्त अनुरोध गर्दछु । नेपाल सरकारले अन्यायमा परेका सबैलाई न्याय दिनेछ भन्ने कुरामा बिश्वस्त छु । यसरी अर्काको फोटो भिडियो एडिट गर्ने । अरुको चरित्र हत्या गर्ने । सामाजिक राजनैतिक जीवन समाप्त गर्ने गरि लागिपरेका अपराधिक गिरोहको अन्त्य गर्न सबै एकजुट हौं ।

























