देश/प्रदेश

रुपेश सर्राफको हत्या आरोपमा १० जना पक्राउ, महिला मुख्य योजनाकार

Banner

काठमाडौं, कात्तिक १४-

बारामा रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । मोटरसाइकलमा रहेका उनी त्यहीँ ढलेका थिए ।

ढलेपछि पनि उनलाई थप गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रुपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपलसमेत रहेको खुलेको छ । उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

रुपेशको हत्या लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समेत घटनाबारे चासो राखेको थियो । गोली हानी हत्या गरिएका रुपेश ६० किलो सुन तस्करीमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त भएकाले चासो राखेको प्रहरीले जनाएको छ । तर बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भने घटनाको विभिन्न कोणबाट अनुुसन्धान हुँदा महिला नै हत्याको मुख्य योजनाकार भएको पाइएको बताए । “अहिलेसम्म १० जनालाई पक्राउ गरेका छौँ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “त्यसमध्ये ६ जना घटनामा संलग्न रहेको पाइएको छ । चार जनामाथि पनि अनुसन्धान भइरहेको छ ।”

उनका अनुसार ६ जनामध्ये पक्राउ परेकी महिला नै मुख्य योजनाकार रहेको पाइएको छ । के कारणले हत्याको योजना बनाइएको हो भन्ने बारेमा पनि प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । काफ्लेका अनुसार यसअघि साउनमा पनि बारामै उनीमाथि गोली प्रहारको योजना बनेको थियो । त्यसबेला सो समूहबाट सर्राफ भाग्न सफल भएको अहिले अनुसन्धानका क्रममा पाइएको काफ्लेले बताए । “यसअघि पनि गोली प्रहारको प्रयास भएको रहेछ,” उनले भने, “त्यसबेला भागेका रहेछन् तर प्रहरीमा खबर आएन । अहिले अनुसन्धानका क्रममा खुल्यो । अनुसन्धानका क्रममा मुख्य कारण महिला नै भएको पाइएको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>