चितवन विशेष

जलविरे झरनाः दशैँ गन्तव्य

Banner

चितवन, कात्तिक ०४-
चितवनको जलविरे झरना(लामो झरना)का बारेमा केही बर्षअघिसम्म अधिकांशलाई जानकारी थिएन् । प्रचार प्रसारको कमी र पूर्वाधारको विकास नहुँदा लामो झरना गुमनाम जस्तै बनेको थियो । आजभोलि भने जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येमा यो झरना पर्दै आएको छ । दशैँ बिदाको सदुपयोग गर्दै टाढा टाढाबाट आएर मनोरम दृश्यमा पर्यटकहरु रमाइरहेका भेटिन्छन् । काठमाण्डौँदेखि दशैँमा घुम्न निस्केकी चन्द्रकला जोशी शुक्रबार आफ्नो परिवारसंग लामो झरनामा टहलिरहेकी थिईन् । ‘म पहिलो पटक आएकी हुँ । यति राम्रो लामो झरना रैछ । मन नै आनन्द आउने,’ झरनाका फोहरा देखाउँदै उनले भनिन्, ‘यहाँ आउँदा वित्तिकै आनन्द महशुस हुने रैछ ।’


लामो झरना इच्छाकामना गाउँपालिका–६ स्थित जलविरेमा पर्दछ । नाराणगढ–मुग्लिन सडकखण्डदेखि एक किलोमिटर माथि रहेको झरनामा पर्यटकको चहल पहल बढेको छ । नवलपरासी (वर्दघाट सुस्तापूर्र्व) स्थित चोरमाराकी कल्पना महत्तो टिकटकमा झरना देखेर घुम्न आएकी हुन् । यहाँ आएपछि राम्रो लागेको उनले सुनाइन् । ‘पहिलेदेखि नै टिकटकबाट झरनाको बारेमा थाहा पाएकी थिएँ। आउने समयमा गाह्रो भयो,’ उनले भनिन् ‘यहाँ आएपछि राम्रो लाग्यो सित्तल छ ।’


प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गरेको पाइन्छ । जलविरे मन्दिरबाट करिव २० मिनेटमा हिडेर पुग्न सकिने यहाँ लामो छाँगाबाट झरेको पानीका फोहरा र त्यसबाट आउने शीतल, पानीका र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याउने गरेको छ । दशैँको छुट्टी पारेर घुम्न निस्केका नवलपुरका राजेश चौधरी लामो झरनामा आएपछि मन नै हर्षित भएको बताउँछन् । ‘नारायणगढ–मुग्लिन सडकखण्ड भएर धेरै पटक हिडियो । यस ठाउँको बारेमा थाहा थियो । तर यहाँ पहिलोपटक आएको हुँ,’ छाँगाबाट बगेको लामो पानीका फोहरा देखाउँदै चौधरीले भने, ‘परिवार सहित दशैँ मनाउन आएको हो ।’

चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्न पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरे झरना १०२ मिटरको छ । यो झरना नारायणगढबाट मुग्लिनतर्फ २७ र मुग्लिनबाट नारायणगढतर्फ सात किलोमिटरको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । मुख्य राजमार्गबाट निजकै पर्ने हुनाले यस राजमार्गमा यात्रा गर्नेहरु उक्लेर प्रकृतिक दृश्यमा रमाइरहेका हुन्छन् । त्यसैमध्येका एक थिए बुटवलका सुदिप पोख्रेल । ‘म फोटोग्राफर हो । काठमाण्डौँदेखि दशैँमा घर बुटवल हिँडेका थियौँ । यस राजमार्ग यात्रा गर्दा झरनामा आएर खिचेर जाउँ भन्ने हुन्छ,’उनले भने ‘१५ मिनेट मात्र भएर पनि घुम्न जाऔँ भनेर आएका हौँ ।’


पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढ्दै गएको छ । दशैँको समयमा दैनिक तीन सयभन्दा बढी पर्यटक घुम्न आउने गरेको जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । ‘यहाँ सामान्य दिनमा पनि दैनिक डेढ सयको हाराहारीमा पर्यटक घुम्न आउनुहुन्छ । यो दशैँमा दैनिक तीन सयको हाराहारीमा आउनुभएको छ,’उनले भने ‘पिकनिक तथा भ्रमण गु्रपसमेत आउनुहुन्छ ।’ यस झरनामा विशेष गरेर बैशाख महिनामा बढी पर्यटक आउने गर्दछन् । सो बेला एकै दिन एक हजार पाँच सयको हाराहारीमा टिकट बिक्रि भएको उनले जानकारी दिए ।
झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा २९ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यहाँ प्रवेश गर्ने पर्यटकबाट प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीबाट २० रुपैयाँ प्रतिव्यक्ति लिने गरेको गाउँपालिकाले जनाएको छ।
लामो झरनाको विकासका लागि तीन तहका सरकारबाट पूर्वाधार निर्माणका काम भएका छन् । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ । सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् । यहाँ आउने पर्यटकलाई बास बस्नको लागि झरना भन्दा माथिको याक्राङ गाउँमा होमस्टे समेत निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>