देश/प्रदेश

व्यासभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

Banner
दमौली , कात्तिक २-
वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल सुरु भएको छ । व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।
पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको विश्वास छ । विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेपछि सरोकारवाला संस्था प्रचारप्रसारमा जुटेका हुन् ।
“व्यास जन्मिएको र पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन,” व्यासका अध्येता काशीनाथ न्यौपानेले भन्नुभयो, “जनताको तहबाट त प्रयास सुरु भयो, तर नेतृत्वकर्ताबाट जुन सहयोग हुनुपर्ने थियो, त्यो अझै हुन सकेको छैन ।” विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि यहीँ भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रबद्र्धन टेवा पु¥याउने उद्देश्यले बेला–बेलामा कार्यक्रमहरु आयोजना गरिएका छन् ।”
विसं २०४१मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रबारे थप अध्ययन अनुसन्धान हुन थालेको व्यासका अध्येता न्यौपानेले बताउनुभयो ।
न्यौपानेले भन्नुभयो, “विसं २०४१ मा योगी नरहरिनाथले धर्मसभामा महर्षि वेदव्यासको २८आँै अवतार दमौलीमा भएको भनेपछि मलाई यस क्षेत्रबारेमा अध्ययन अनुसन्धान गर्न प्रेरणा मिल्यो । योगी नरहरिनाथले यस क्षेत्र महत्वपूर्ण छ भनेपछि मलाई कताकता यस क्षेत्र बारे कौतुहलता जाग्यो ।” आजभन्दा करिब पाँच हजार पाँच सय वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ ।
व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छेकुण्ड रहन गएको विश्वास छ ।
विश्वको सबैभन्दा लामो ९एक लाख श्लोक० र दोस्रो महाकाव्य ‘महाभारत’ पूर्वीय लौकिक संस्कृत साहित्यको ऐतिहासिक आर्ष ग्रन्थ र बृहत् ज्ञानराशि भएको धर्मग्रन्थमा महाभारत र पुराणका रचयिता तथा चारै वेदका सम्पादक व्यासको तपस्यास्थल नेपालकै दमौली नजिकको गुफामा रहन्थे भन्ने भनाइ छ ।
व्यासभूमिको प्रचारप्रसारका लागि बुधबारदेखि व्यास गुफा क्षेत्रमा विश्व ओमकार तथा हिन्दु महामिलन पर्व सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा सुरु भएको महामिलन पर्व कात्तिक महिनाभर सञ्चालन हुनेछ ।
महामिलन पर्वको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति विज्ञ तथा प्राज्ञिक डा भक्त राईले उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले व्यासभूमिको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । व्यासभूमिको प्रचारप्रसारका लागि हुँदै आएको कार्यको सराहना गर्दै उहाँले व्यासभूमिलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभयो । व्यास क्षेत्र शिवपाञ्चायन मन्दिरका मूलसंरक्षक शान्ति स्वरुपानन्द बाबाले व्यासभूमिलाई हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनाउने उद्देश्यसहित महामिलन पर्ल आयोजना गरिएको जानकारी दिनुभयो ।
वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका दुर्गाभक्त अधिकारीले व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रबद्र्धन टेवा पु¥याउने उद्देश्यले एक महिने महामिलन पर्व आयोजना गरिएको बताउनुभयो ।
महामिलन पर्वको अवसरमा कात्तिक १६ गते हुने श्रीमद्भागवत ज्ञान महायज्ञको संस्कृतिविद् डा। जगमान गुरुङले उद्घाटन गर्नुहुनेछ । त्यस्तै कात्तिक २४ गते महायज्ञको महेश सन्यास आश्रम देवघाटधामका स्वामी १००८ रमणानन्द गिरीजी महाराजले समापन गर्नुहुनेछ । त्यस्तै कात्तिक ३० गते महामिलन पर्वको काशीभारतका अनन्त विभूषित स्वामी परासरजी महाराजले समापन गर्ने कार्यक्रम छ ।
विसं २०७४ कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप प्रत्येक वर्ष कात्तिक महिनामा यो कार्यक्रम आयोजना हुँदै आएको छ । महामिलन पर्वमा धर्मगुरु, सन्त,महन्त, विद्वान, बुद्धिजीवि एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति छ ।
महामिलन पर्वका अवसरमा वैदिक सनातन विधि अनुसार हिरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताहरुको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचन लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>