समाचार

धानको भुसभित्र लुकाएर लैजाँदै गरेको एक मेट्रिक टन बढी गाँजा बरामद

Banner

मोरङ, साउन १५-

मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। रतुवामाई नगरपालिका १० सोमबारेबाट एक मेट्रिक टन बढी गाँजा बरामद भएको हो।

इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म चुनीबारीको संयुक्त टोलीले एक हजार ३३ केजी गाँजा बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनका अनुसार उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा गाँजा रहेको विशेष सूचना आएपछि नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले रोकेर चेक गर्दा ट्रकको पछाडि धानको भुसको बोरामुनि कालो प्लास्टिकमा प्याक गरेर राखिएको ३१ वटा पोका गाँजा फेला परेको थियो। ट्रकबाट बरामद गरिएका सबै गाँजा प्याक गरेको पोका तौल गर्दा एक हजार ३३ केजी रहेको एसपी कटवालले जानकारी दिए।

गाँजा ओसारपसारमा संलग्न ट्रकलाई नियन्त्रणमा लिएर चालक धनकुटाको पाख्रीबास नगरपालिका(९ का २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको बताउँदै, एसपी कटवालले भने, ‘पछिल्लो समय तराईका जिल्लामा देखिएको तनावका कारण सुरक्षाकर्मीहरू शान्ति सुरक्षा कायम गर्न व्यस्त रहेको मौका छोपेर तस्करहरूले गाँजा कटाउन खोजेको हुन सक्छ।’

बरामद भएको गाँजा, नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त गाँजा धनकुटाबाट ल्याएर भारततर्फ लैजान खोजिएको हुन सक्छ, अनुसन्धानबाट थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>