विचित्र संसार
दोस्रो विवाह गरेकी महिलाले पहिलो पतिसँग रात बिताएपछि…

नयाँ दिल्ली,साउन १०-
पहिलो पतिलाई छाडेर दोस्रो विवाह गरेकी एक महिला आफ्नै घरमा पहिलो पतिसँग रात बिताएको अवस्थामा रङ्गेहात फेला परेपछि अनौठो तरिकाले विवाद समाधान गरिएको छ । भारतको बिहार राज्यको समस्तीपुर जिल्ला अन्तर्गत कर्पुरीग्राम थाना क्षेत्रको सिंघिया खुर्द गाउँमा सो घटना भएको हो ।
खगडिया जिल्ला निवासी अनुराधा कुमारीले १० वर्ष अघि समस्तीपुर जिल्लाको तालपुर निवासी पन्नालाल यादवसँग प्रेम विवाह गरेकी थिइन् । ६ महिना अघि उनले पन्नालाल यादवलाई छाडेर सिंघिया खुर्द गाउँ निवासी मनोहर नाम गरेका पुरुषसँग प्रेम विवाह गरिन् । मनोहरका दुई सन्तान छन् ।
विवाहपछि मनोहरसँग उनकै घरमा बस्दै आएकी अनुराधाको आचरणमा शंका लागेपछि मनोहरले निगरानी गर्न थालेका थिए । यस क्रममा गाउँलेले अनुराधालाई पूर्वपति पन्नालालसँग भेट गरेको अवस्थामा फेलासमेत पारेका थिए । तर शनिबार राति अनुराधाले पूर्वपतिलाई घरमै बोलाएर रात बिताएकी थिइन् ।
गाउँलेले अनुराधा र उनको पूर्वपतिलाई घरमै फेला पारेका थिए । त्यसपछि गाउँलेले नै अनुराधाको विवाह पूर्वपति पन्नालालसँग गराइदिएर विवाद सुल्झाएका छन् । गाउँलेले यस्तो फैसला गर्दा मनोहरसहित उनको परिवार पनि उपस्थित थियो । कसैले पनि गाउँलेको निर्णयमा आपत्ति नजनाएपछि पन्नालाल र अनुराधालाई बिदा गरेर पठाएको बताइएको छ ।

























