राजनीति
माओवादी र जसपाको तीन महिने अभियानको ‘मोडेल’ एउटै !

काठमाडाैं, असाेज १७-
गौर घटनालाई लिएर माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सम्बन्ध बिग्रे पनि दुवै पार्टीले एउटै मोडेलमा अभियान चलाइरहेका छन् ।
जनजनमा माओवादी, घरघरमा माओवादी भनी नारा दिएर माओवादीले जनतासँग माओवादीः विशेष रुपान्तरण तीन महिने अभियान सुरु गरेको छ । माओवादीले केन्द्रीय समितिका नेताहरुलाई प्रदेश, जिल्ला, स्थानीय निकायदेखि वडा तहबाटै अभियानका लागि खटाइएको छ ।
हरेक नेतालाई अन्तर भूगोलमा खटाइएको छ । जसको जुन प्रदेश, जिल्ला, स्थानीय तह छन्, त्यसलाई त्यहाँ नखटाएर फरक फरक भूगोलको जिम्मेवारी दिएर पठाइएको छ ।
यसैगरी, जनता समाजवादी पार्टीले पनि नयाँ विधान ल्याई सकेपछि त्यसलाई कार्यान्वयनका लागि तीन महिने अभियान सुरु गरेको छ । उसले पनि ‘मनमनमा जसपा, घरघरमा जसपा’ भनी मूल नारा दिएर तीन महिने अभियान सञ्चालन गरेको छ ।
जसपाले कुनै पनि नेतालाई उसको आफ्नो प्रदेश, जिल्ला तथा स्थानीय तहको जिम्मेवारी नदिई सबै नेतालाई फरक फरक भूगोलको जिम्मेवारी दिएर पठाएको छ ।
पार्टीका केन्द्रीय नेताहरुलाई स्थानीय तहदेखि जिल्ला र प्रदेशसम्म खटाइएको छ ।
जसपाले आफ्ना नयाँ विधानअनुसार पार्टी सुदृढीकरणका लागि यो अभियान चलाएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘नयाँ विधानअनुसार प्रदेश, जिल्ला, स्थानीय तहको समिति पुनर्गठन गर्ने र जहाँ समिति छैन, त्यहाँ समिति बनाउने भनी अभियान नै सञ्चालन गरेको छ । तीन महिनाभित्र सबै समिति पुनर्गठन तथा समिति नभएको ठाउँमा नयाँ समिति बनाउने काम सक्नुपर्छ ।’
पार्टी प्रचार विभागका प्रमुख पूर्ण वस्नेतले माओवादी केन्द्रले जसपाभन्दा पछि अभियान सुरु गरेको बताए । भदौ १ गते पार्टीले निर्णय गरेको थियो, भदौ ४ गते सर्कुलर पठाएर सबैलाई अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार अभियान सुरु भएको उनले दाबी गरे ।
यद्यपि, माओवादी जस्तो एकैपटक देशभर एकैदिन अभियानको उद्घाटन जसपाले गरेको होइन । पार्टीको सर्कुलर जारी गरेपछि प्रदेश, जिल्ला तथा स्थानीय तहले आआफ्नो अनुकूल अभियान सञ्चालन गरेको हो तर सबैको समय तीन महिना मात्र रहेको छ ।



























