Breaking News

देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

०
Banner

काठमाडौं, कात्तिक ११ –

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा मनोनित केन्द्रिय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने दाबी गर्नुभयो । अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरु लोकतन्त्र, शान्ति भनेर चिच्याउने तर नेपालीलाई धोका दिइरहेको आरोप लगाउनु भयो । सरकार बलजफ्ती अघि बढिरहेको उहाँको भनाइ छ । नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । आवारा शैलीमा प्रहरी अघि बढ्नु राम्रो नभएको उहाँको तर्क छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने टक्टक्याउने खालको मनस्थिति पनि नबनाउँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ । यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनाँै भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो । अब दक्षिणपन्थी शक्तिहरु लोकतन्त्र, शान्ति भनेर घाँटीका नसा फुलिन्जेल कराउँछन्, दुनियाँलाई धोका दिन्छन् तर व्यवहार कस्तो गर्छन् भने मान्छे मराउने षड्यन्त्र गर्दछन् । त्यो मराएकोलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, ध्वस्त बनाउने, कुटपिट गर्ने, आतंक फैल्याउने षड्यन्त्र गर्दछन् । कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो की त पूर्जि, बोल्यो की त गिरफ्तारी, बोल्यो की त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन ? डे«स नलगाएर, आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिना बर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ? गुण्डा हो की को हो ? बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ ।’

अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको पनि बताउनु भयो । उहाँले सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको बताउनु भयो । तत्काल वा तिहार तथा छठपछि जहिले भएपनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौँ । हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन, अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवा स्वप्नामा परिणत गरिदिनुपर्छ ।’

अध्यक्ष ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमाले बिनाको देश बनाउने योजनालाई दिवा स्वप्नामा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि निर्देशन दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>