इच्छकामना

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री जम्कट्टेल

Banner

चितवन,भदौ २०-

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । आज चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “नयाँ नीतिका साथ स्थानीय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा सँगसँगै जोडिएर जानुपर्छ भन्ने उद्देश्यका साथ केही नीतिगत निर्णय छिट्टै गर्दैछौँ, अहिले हाम्रो सहकार्य त्यति राम्रो हुन सकिरहेको छैन, आवश्यकता के हो भन्ने पहिचान पनि हुन सकेको छैन, त्यसैले आवश्यकता पहिचान गर्ने र एकापसमा भएको स्रोत साधनलाई परिचालन गर्न सहकार्य गर्न आवश्यक छ ।”

प्रदेश र स्थानीय सरकारको सहकार्यका लागि केही नीति बनाउने तयारीमा रहेको उहाँको भनाइ छ । “अब विकास गर्ने भनेको प्रदेश र स्थानीय सरकार मिलेर हो, त्यसका लागि हामीले केही नीति बनाउँदै छौँ, ड्राफ्ट गर्दैछौँ, हाम्रो सहकार्यको निम्ति संविधान र स्थानीय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको कानूनको बीचमा तादात्म्यता हुने गरी विशेषतः विकासका काममा सहकार्य गर्ने गरी नीति बनाउँदै छौँ ।”

प्रदेशका सबै पालिका प्रमुखसँग आगामी कात्तिकमा छलफल गर्ने समयतालिका तय भएको उहाँले जानकारी दिनुभयो । आगामी वर्षको नीति कार्यक्रम तथा बजेट स्थानीय सरकारले गुनासो गर्न नपर्ने गरी आउने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री जम्कट्टेलले गृहिणी महिला कार्यक्रम सुरुआत गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गृहिणी महिला आमा, दिदीबहिनीको जे सीप छ जे क्षमता छ त्यो सीप र क्षमतालाई संरक्षण गर्ने, उहाँहरूलाई उत्साहित बनाउने र उहाँहरूले उत्पादन गरेका सामग्री उचित मूल्यमा सङ्कलन गर्ने, तालिम प्रदान गर्नेलगायतका कार्यक्रमका गृहिणी महिला कार्यक्रम अघि बढाएका छौँ, त्यसका लागि बजेट विनियोजन गरेका छौँ, कार्यविधि बनाउँदै छौँ ।” स्थानीय पालिकासँग सहकार्य गर्ने गरी उक्त कार्यक्रम अघि बढाउने उहाँको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>