राजनीति
श्रद्धाञ्जलीका लागि सानेपामा राखियो राजाराम कार्कीको पार्थिव शरीर

काठमाडौं, भदौ ७-
नेपाली कांग्रेसका नेता राजाराम कार्कीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। कांग्रेसका नेता, कार्यकर्ताहरू सानेपा पुगेर कार्कीलाई श्रद्धाञ्जली दिएका छन्। नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङले पनि कार्कीलाई श्रद्धाञ्जली दिएका छन्।
बिहीबार बिहान ११ बजेसम्म कार्कीको पार्थिव शरीर सानेपामा राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
काठमाडौंको वीर अस्पतालमा उपचाररत कार्कीको बुधबार अपराह्न ५ बजे निधन भएको थियो।
कार्की धादिङबाट कांग्रेस महासमिति सदस्य थिए। उनी २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा विमलेन्द्र निधि प्यानलबाट महामन्त्री पदका उम्मेदवार भए पनि पराजित भएका थिए। कार्की कांग्रेस पूर्वकेन्द्रीय सदस्य, नेपाल तरूण दलका पूर्वमहामन्त्री, बागमती प्रदेश सभाका पूर्वसदस्य थिए।



























