Breaking News
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

काठमाडौं,कात्तिक १२ –
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा तथा अत्यावश्यक सेवाको निरन्तर सञ्चालनका लागि मातहतका सबै निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएको छ। यद्यपि वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
सम्भावित मौसमी जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा जानुअघि आधिकारिक मौसम पूर्वानुमानको अद्यावधिक जानकारी लिएर मात्र यात्रा तय गर्न पर्यटक तथा पर्वतारोही टोलीलाई आग्रह गरेका छन्।
हवाई सुरक्षालाई प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण तथा वैकल्पिक उडान योजनासहित सञ्चार र विद्युत् प्रणालीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
यसैगरी जिल्ला प्रशासन कार्यालयहरूले आ–आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेका छन्।
सरकारले भ्रामक सूचना तथा अफवाहको पछि नलाग्न, आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसमको अवस्थाअनुसार आवश्यक सावधानी अपनाउन नागरिकलाई अपिल गरेको छ।























