राजनीति
कांग्रेसको इतिहास छ, इतिहासको कुरा गर्छः नेता प्रकाशमान

काठमाडौं,भदौ ७-
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका हुन् ।
पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ भन्दै उनले सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने बताए ।
उनले अब आर्थिक क्रान्तिको बेला भएकाले पार्टी र सरकारले त्यसैअनुसारको योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने बताए । राजनीतिक रुपमा धेरै उपलब्धि हासिल भएको भन्दै अब आर्थिक क्रान्ति र समतामूलक विकास मूल एजेन्डा हुनुपर्ने उनले बताए ।
केही हुँदै भएन र पुराना पार्टीहरुले काम गरेनन् भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘२०४६ साल पछिको विकास र प्रगतिलाई ख्याल नठान्नुस् ।’ हालसम्मका उपलिब्ध कांग्रेसकै नेतृत्वमा भएको उनको दाबी थियो ।
कांग्रेसले इतिहास बनाउन सकेकाले इतिहासका कुरा गर्ने उनले बताए । खाली इतिहासको मात्र कुरा गर्छ भन्नेहरुको पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘कांग्रेसको इतिहास छ, इतिहासको कुरा गर्छ र जनचाहना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जनतामाझ जान्छ,’ उनले भने, ‘जुन पार्टीको इतिहास नै छैन, उसले के कुरा गर्छ ?’



























