राजनीति
कार्तिक मसान्तभित्र सदस्यता नवीकरण र मंसिर १० भित्र प्रमाणीकरण गर्न अध्यक्ष नेपालको प्रस्ताव

काठमाडौं, भदौ ५-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी कार्तिक मसान्तभित्र पुरानो संगठित सदस्यता नवीकरण गर्न र मंसिर १० गतेभित्र प्रमाणीकरण गर्न प्रस्ताव गरेका छन्।
मंगलबारबाट सुरू भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले भदौ २० गतेभित्र पार्टी कमिटी र जनवर्गीय, पेशागत तथा सामुदायिक संठनका कमिटीको बैठक बसेर योजना बनाउन प्रस्ताव गरेका हुन्।
‘पार्टी सदस्यता वितरण र नवीकरण गर्ने कार्य निरन्तर रूपमा चलिरहन सक्छ तर महाधिवेशनको प्रक्रियामा सहभागी हुन भने कार्तिक मसान्तभित्र नवीकरण र वितरण भई मंसिर १० गतेभित्र प्रमाणीकरणको लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएका सदस्यहरूले मात्र पाइने छ,’ अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भने।
भदौ र असोजमा दस्तावेजहरूको मस्यौदा गरिसकिने छ र कात्तिक र मंसिर महिनामा दस्तावेजमाथि पार्टीव्यापि रूपमा छलफल र बहस चलाइने पनि उनले बताए। यस अवधिका प्रशिक्षण पनि महाधिवेशन केन्द्रित नै हुने अध्यक्ष नेपालको भनाइ छ।



























