राजनीति
माओवादी केन्द्रमा प्रचण्डप्रति जनार्दन आक्रामक, नारायणकाजी नरम

काठमाडौं, साउन २३-
पाँच दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुबीच तीन धार देखापरेको छ।
धारणा राख्ने क्रममा केही नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पूरै समर्थन गरे, कतिपयले आलोचनासहित समर्थन गरे र केही आक्रामक प्रस्तुतिसहित आलोचनामा उत्रिए। यी तीन धारको अगुवाइ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिवद्वय जनार्दन शर्मा तथा वर्षमान पुनले गरेको देखिन्छ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठ लगायतका केही नेता अध्यक्ष प्रचण्डप्रति निकै नरम रुपमा प्रस्तुत भए। सरकारले नयाँ गतिमा काम गरिरहेकोले सफल पार्नुपर्ने उनीहरुको तर्क छ।
उपमहासचिव वर्षमान पुनसहितका नेताले आलोचना र समर्थन मिश्रित धारणा राखे। उनीहरुले प्रचण्डको आलोचना गरे पनि अभिव्यक्तिमा नरमपना अपनाए।
अर्का उपमहासचिव जनार्दन शर्मा सहितका केही नेता आक्रामक देखिए। अन्य अधिकांश केन्द्रीय सदस्यहरुले श्रेष्ठ, पुन र शर्माकै लाइनमा आआफ्नो धारणा राखे।
केन्द्रीय सदस्य गोविन्द रोक्काले सबै नेता र हरेक कमिटीहरु निर्वाचनद्वारा चयन गर्न माग गरे।
‘निर्वाचनबाट मात्र सानो आकारका कमिटी बनाउन सकिन्छ र विभिन्न किसिमका दबाब, प्रभाव, नातावाद, कृपावाद, परिवारवाद, चाकडी, चाप्लुसी प्रथा कमजोर हुन्छ,’ रोक्काले बैठकमा भने, ‘नेताहरु कार्यकर्तामुखी, जनतामुखी हुन्छन्। हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार २ कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्छ।’



























