चितवन विशेष

क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा अझै अन्योल

Banner

चितवन, साउन ०४-

तीन महिनादेखि रिक्त रहेको चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा थप अन्योल देखिएको छ । राजनीतिक दाउपेचका कारण अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक सिफारिस समिति बनाउन सकेको छैन ।

मंगलबार राजधानिमा बसेको बोर्ड बैठकमा कार्यकारी नियुक्ति प्रकृया विना निष्कर्ष टुंगिएको अध्यक्ष डा. विजयराज न्यौपाने बताउँछन् । ‘मेरो नेतृत्वमा पहिलोपटक राजधानीमा बोर्डको बैठक बस्यो । १० जना सदस्य उपस्थिती हुनुहुन्थ्यो,’ उनले भने ‘स्वास्थ्य मन्त्रालयका एक जना पदेन सदस्य उपस्थित नहुँदा कार्यकारी सिफारीस समिति समेत बन्न सकेन ।’

कार्यकारी सिफारिस समिति तीन सदस्य हुन्छ । जसमा बोर्डले चयन गर्ने एक सदस्य, अध्यक्षले तोकेको एक व्यक्ति र स्वास्थ्य मन्त्रालयको एक पदेन सदस्य सिफारिस समितिमा हुनुपर्ने व्यवस्था छ । तर, स्वास्थ्य मन्त्रालयकै सदस्य उपस्थित नभएपछि समिति गठन हुन नसकेको उनले बताए । सञ्चालक समितिले सिफारिस समिति गठन गरी उक्त समितिले सिफारिस गरेका व्यक्तिमध्येबाट स्वास्थ्य मन्त्रीले कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ ।

क्यान्सर अस्पतलामा बैशाख २४ गतेदेखि कार्यकारी पद खालि छ । यसअघि अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन । असार २६ गते ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ । समाजसेवीबाट शिला अधिकारी, डिलिप पौडेल, विज्ञबाट डा.अनिल विक्रम कार्की, डा.रश्मि पुन, डा.दिनेश विके र डा. रिताकुमारी महत्तो चयन गरेको छ । बोर्डले पूर्णता पाएपनि विवादका कारण नियुक्ति गर्न सकेका छैनन् । यसअघि बोर्ड गठन हुन नसकेर नियुक्त गर्न नसकिएको बताउँदै आईएको थियो । अहिले बोर्ड गठन हुँदा समेत राजनीतिक दाउपेचकै कारण अझै अनिर्णय बनाईएको छ ।

डा. निर्मल लामिछानेको अध्यक्ष पद फागुन १३ देखि सकिएको थियो । त्यसको एक महिना पछि चैत्र २० गते डा. न्यौपानेलाई अध्यक्षमा मन्त्रिपरिषद्ले चयन गरेको हो । तर, सदस्य समयमा नियुक्त नहुँदा उनले केही काम अगाडि बढाउने सकेनन् । १४ सदस्यीय सञ्चालक समितिमा ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ । भरतपुर महानगरपालिका प्रमुख, स्वास्थ्य सचिव, अर्थ सचिव, स्वास्थ्य अनुसन्धान परिषद्का एक जना पदेन सदस्य हुने व्यवस्था छ । कार्यकारीले २ सदस्य अस्पतालमा काम गर्ने चिकित्सकलाई छनोट गर्न पाउँछन् । कार्यकारी नै नियुक्त हुन नसकेपछि रोकिएको छ ।
एक साता भित्रमा कार्यकारी नियुक्त गरिने अध्यक्ष न्यौपाने बताउँछन् । ‘अहिले मन्त्री ज्यू पनि बाहिर हुनुहुन्छ । यो हप्ता बैठक बस्ने कुरा आएको छ,’ उनले भने, ‘बोर्डबाट सर्वसमत बनाएर कार्यकारी नियुक्त गर्दछौँ ।’ यद्यपि कार्यकारी निर्देशक चयनका लागि मन्त्रीको आवश्यक पर्दैन ।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा तीनजना आकांक्षी छन् । उनीहरू नेतृत्वलाई रिझाउन काठमाडौं धाइरहेका छन् ।
निवर्तमान उपनिर्देशक डा.कृष्णसागर शर्मा, पूर्वकार्यकारी निर्देशक विजयचन्द्र आचार्य र शिवजी पौडेलले लविङ गरेका छन् । आचार्य र पौडेल कांग्रेस निकट हुन् भने शर्मा माओवादी निकट हुन् । कांग्रेसका जिल्ला नेताहरु पौडेललाई कार्यकारीका लागि सिफारिस सहित राजधानी पुगेका थिए । क्यान्सर अस्पतालमा बार्षिक साढे एक लाखको हाराहारीमा बिरामी उपचार गर्न आउने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>