चितवन विशेष
सभा हल बनाउने भनिएको जग्गामा बिना अनुमति ढल र सडक निर्माण गर्न खोजेपछि नारायणी कला मन्दिरको आपत्ति

पूजा ढकाल
चितवन, जेठ २८-
नारायणी कला मन्दिर नारायणगढले आफ्नो जग्गामा बिना अनुमति सडक तथा ढल निमार्णको काम अगाडि बढाएको भन्दै आपत्ति जनाएको छ । कला मन्दिरले आफ्नो जग्गा कित्ता नम्बर १४ मा सभाहल बनाउने सोच बनाएको थियो तर टोलले बिना अनुमति ढल निर्माण योजना अगाडि बढाएपछि बिरोध जनाएको हो ।
कला मन्दिरको जग्गामा बिन्दबासिनी टोल सुधारले बिना जानकारी सडक तथा ढल निमार्णको काम अगाडि बढाएको नारायणी कला मन्दिरका पूर्वअध्यक्ष शेखर कुमार श्रेष्ठले बताए । उनका अनुसार कला मन्दिरको नाममा भएको नम्बरी जग्गा विशेष साधारण सभा बोलाएर पास गरेर दिन पर्ने भए पनि टोल सुधारले कुनै जानकारी नै नगरी निर्माण योजना अगाडि बढाएको हो । उनी भन्छन्, ‘हामीलाई जग्गा दिन र बाटो निर्माण कार्यको योजना अगाडि बढाउँदा कुनै आपत्ति थिएन । तर, बिना जानकारी निर्माण अगाडि बढाउँदा आपत्ति भएको हो । किनभने यो व्यक्तिको जग्गा नभए एक संस्थाको जग्गा हो । जुन व्यक्तिगत रुपमा दिन मिल्दैन ।’
कला मन्दिरका उपाध्यक्ष रोहितकुमार श्रेष्ठले पनि जग्गामा सडक तथा ढल निर्माणको विषयमा टोल सुधारले कला मन्दिरलाई कुनै जानकारी नगराएपछि पछिल्लो केही दिन यता निर्माण कार्य रोकिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले साधारणसभाको निर्णय नभएसम्म संस्थाको जग्गा कसैलाई दिन नमिल्ने बताए ।

कला मन्दिरका सचिव सनदकुमार पियाका अनुसार पहिले यो जग्गाको बाटो भएर स्कुल कलेज पढ्ने विद्यार्थी हिड्ने र क्षेत्रपुरबाट क्याम्पाचौर जोड्ने बाटोको रुपमा चिनिएको थियो । तर, अहिले बालकुमारी क्याम्पस क्षेत्रमा राम्रो बाटो बनेकोले र लोकमार्ग सञ्चालन आएपछि यो जग्गाको बाटो पछिल्लो समय कोही नहिड्ने बताउँदै पियाले भने, ‘कला मन्दिरको अनुमतिबिना सूचना नै नगरी सडक निर्माण गर्न लागेका थिए । जुन कार्य हामीले पछिल्लो समय रोकेका छौँ ।’ उनले कला मन्दिरलाई जानकारी गराएर सबैको स्वीकृतीमा सडक निर्माण गरे कुनै आपत्ति नहुने बताए । १४ नम्बर कित्ताको जग्गामा मन्दिरले सभाहल बनाउने योजना बनाए पनि बजेटका कारण योजना अगाडि बढाउन नसकेको उनको भनाइ छ ।

























