राजनीति

को हुन नवनियुक्त अर्थमन्त्री डा. महत

Banner

काठमाडौँ,  चैत १७-

नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत विसं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलासमा जन्मनुभएको हो ।
फुलब्राइट छात्रवृत्तिअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी ९पिएचडी० गर्नुभएका डा महत हाल नेपाली कांग्रेसको प्रवक्ता तथा केन्द्रीय सदस्य हुनुहुन्छ ।

कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सङ्घमा लाग्नुभएका उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर काम गर्नुभएको छ । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेल्नुभएका डा महत त्यसबेला नेपाल विद्यार्थी सङ्घको महासचिव हुनुहुन्थ्यो ।

कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा महतले एक्सन कमिटीमा रहेर काम गर्नुभएको थियो । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उहाँले विसं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्नुभएको थियो भने २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

उहाँले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गर्नुभएका डा महतले पहिलो र दोस्रो संविधानसभामा सदस्य रहनुभयो । त्यसैगरी विसं २०७० देखि २०७४ सम्म विधायकको रुपमा रहनुभयो । हाल उहाँ प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रुपमा विसं २०५८ देखि २०५९ सम्म काम गर्नुभएका डा महतले राष्ट्रि«य योजना आयोगको सदस्यका रुपमा पनि काम गर्नुभएको थियो ।

उहाँले यसअघि परराष्ट्र मन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रूपमा रहेर काम गर्नुभएको छ । उहाँ उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० के।भी। प्रशारण लाइन निर्माणको निर्णय गर्नुभएको थियो ।

त्यस्तै परराष्ट्रमन्त्री हुँदा उहाँको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराउनुभएको थियो । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गर्नुभएको थियो ।

मुलुकको अर्थतन्त्रमा चुनौती आइरहेको वर्तमान अवस्थामा उहाँ देशको अर्थमन्त्री बन्नुभएकोले अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका डा महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>