राजनीति

कम्युनिस्ट सरकार ढाल्नेलाई कम्युनिस्ट भन्ने अधिकार छैन: ओली

Banner

बुटवल, चैत १५-

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार ढालेर विदेशीको इशारामा कांग्रेसको नेतृत्वमा रहनेहरुलाई कम्युनिस्ट भन्ने अधिकार नै नभएको बताएका छन् ।माधव नेपाल र प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले कम्युनिस्टको सरकार ढाल्ने, पार्टी फुटाउने, तहसनहस बनाएर अरू देशलाई रिझाउनेहरुले कम्युनिस्ट भनेर भन्न नमिल्ने बताए ।

एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देहीको बुटवलमा बुधबार सम्बोधन गर्दै ओलीले कम्युनिस्टको सरकार ढालेर पार्टी फुटाउनेहरुलाई कसरी कम्युनिस्ट भन्न सकिन्छ भन्ने प्रश्नसमेत गरे ।

माओवादी र नेकपा एकीकृत समाजवादीमा नेताहरु खराब भए पनि कतिपय कार्यकर्ता इमानदार रहेको भन्दै ओलीले उनीहरुलाई भ्रमबाट मुक्त पारिनुपर्ने बताए । उनले दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमानदार कार्यकर्तालाई एमालेमा ल्याउनुपर्ने बताए ।

उनले कम्युनिस्टको सरकार ढालेर कांग्रेसको सरकार बनाउन बिन्ती बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बन्दै कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नामचाहिँ समाजवादी राखेर भ्रमित बनाउने काम भएको आरोपसमेत लगाए ।उनले भने, ‘यसरी केही इमानदार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’

ओलीले एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपंक्ति जनतासमक्ष जान नसकेको बताउँदै एमालेको योजनालाई जनतामा चिनाउन अहिलेको मिसन ग्रासरुट अभियान ल्याइएको प्रस्ट पारे ।युवा पुस्तामा समेत राजनीतिक सचेतना पुगेको भन्दै उनले त्यो पिँढीमा एमालेको अभियान पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले आफ्नो पालामा धेरै राम्रो काम भएको जिकिर गर्दै अब एमालेले ५१ प्रतिशत मत ल्याउने गरी अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । चैत ११ गते लुम्बिनी प्रदेश छिरेका ओली कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै रुपन्देहीको कार्यक्रम सकेर आज काठमाडौँ फर्किएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>