राजनीति
उपेन्द्र यादवलाई बारा २ मा आए पराजित गरेरै छाड्ने छौँः सीके राउत

काठमाडौं, चैत १५-
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा २ मा आए पराजित गरेरै छाड्ने बताएका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा २ मा आए पराजित गरेरै छाड्ने बताएका हुन् । उनले निर्वाचनमा कसैलाई चोर बाटोबाट प्रवेश गर्न नदिने बताए ।
उनले उपेन्द्रलाई लक्षित गर्दै भने, ‘बारा २ मा हुने उपनिर्वाचन कुनै उम्मेदवारबीचको प्रतिस्पर्धामात्रै होइन । यो लोकतन्त्र कायम राख्ने र त्यसलाई मजाक बनाउनेबीचको प्रतिस्पर्धा हो । कसैलाई चोर बाटोबाट पसाउने कामको लागि जालझेल रचियो । बारा २ मा जबरजस्ती सीट खाली गर्न लगाइयो । जनताले दिएको जनमतको अपमान भयो । जनताले अपेक्षाका साथ मतदान गरेको छ ।’
सीट खाली हुनेबित्तिकै सरकारको मिलेमतोमा निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको बताए । उनले उपराष्ट्रपतिको निर्वाचनमा पनि धाँधली गरेर महिलाले पाइसकेको अधिकार खोस्न लगाएको बताए ।
नेता राउतले जसपा यादवलाई लक्षित गर्दै भने, ‘कसैलाई मन्त्री बन्न छट्पटाहट छ । उहाँले पार्टीमा म मन्त्री नभएसम्म तिमीहरु पनि पाउँदैनौं भन्ने खालको ध्येय छ । या त म हुन्छ नत्र कोही पनि हुँदैन । यस्ता नेताहरुको हत्या गर्ने, राजनीतिक कार्यकर्ताको हत्या गर्ने परिपाटी त्यहाँ छ । त्यो मन्त्री बन्न वैशाख १० मै निर्वाचन गराउन दबाब दिएर रोइकराा गरेका छन् ।’
























