राजनीति
भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, चैत १२–
सत्ता साझेदारीबारे भागबन्डा मिलाउन गठबन्धन दलहरुको बैठक आज बस्दैछ। प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिए लगत्तै चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म सत्ता गठबन्धनको बैठकसम्म राख्न सकेका छैनन्।
आज दिउँसो बस्ने बैठकबाट मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने तयारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थ लगायतका महत्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा सकस छ।
शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज र भोलि गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले यसबीचमा गठबन्धनका केही घटकसँग मन्त्रिपरिषद विस्तारबारे छलफल गरे पनि सहमति जुटिसकेको छैन।
प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन्। माओवादीले गृह मन्त्रालय आफैँसँग राख्न चाहेको छ। स्रोतका अनुसार कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि माओवादीले गृहमन्त्रालय लिने सहमति भएको हो।
मन्त्रिपरिषद विस्तार हुँदा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुने भएको छ। उनलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ।



























