राजनीति
राष्ट्रपति पौडेललाई भारतबाट हुने थप लगानीबारे ब्रिफिङ

काठमाडौँ, चैत ११-
नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरि भारतबाट नेपालमा हुने थप लगानीको सम्भावनाबारे ब्रिफिङ गरेका छन्। शनिबार बिहान शीतल निवासमा भएको शिष्टाचार भेटमा संघका तर्फबाट केसीले नेपाल र भारतबीच भइरहेको व्यापार र भारतबाट जलविद्युत लगायत नेपालमा हुन सक्ने थप लगानीका सम्भावनाबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्।
राष्ट्रपतिको कार्यभार सम्हालेको झण्डै दुई साता रामचन्द्र पौडेलले दैनिक शिष्टाचार भेटघाट गरिरहेका छन्।दैनिकी यस्ता भेटघाटमा राष्ट्रपतिसँग पार्टीका नेता, व्यवसायी, कलाकार र सर्वसाधारणले बधाई दिइरहेका छन्। पौडेलले तनहुँ जिल्लावासीहरूको टोलीसँग त दिनदिनै भेट गरिरहेका छन्।
शनिबार बिहान नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँग पनि राष्ट्रपति पौडेलले भेटवार्ता गरे। बारका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले ‘संविधानको अक्षर र भावनाको मर्मअनुरुप’ काम गर्ने दोहोर्याए।
भेटमा बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारीले राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।



























