नवलपुर

नवलपुरमा क्षयरोगीको सङ्ख्या बर्सेनि बढ्दो

Banner

मध्यविन्दु, चैत १०–

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म तीन सय ३४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि फागुनसम्म जिल्लामा दुई सय दुई जना पुरुष र एक सय ३२ जना महिला गरी तीन सय ३४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगीमध्ये १४ वर्षमुनिका पाँच बालिका र एक बालक पनि रहेको तथ्याङ्कमा देखिएको छ ।

साउनदेखि फागुनसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये नौ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लामा तीन सय १२ जना क्षयरोगी भेटिएकामा यो वर्ष गत वर्षको भन्दा २२ जना बढी क्षयरोगी भेटिएका छन् । “जिल्लामा अहिले तीन सय २२ जना क्षयरोगीले औषधि सेवन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये सात जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।”

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा भेटिएका क्षयरोगीमध्ये गैँडाकोट नगरपालिकामा सबैभन्दा धेरै ८१ जना रहेका छन् । त्यसैगरी कावासोती नगरपालिकामा ६६, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ५०, विनयी त्रिवेणी गाउँपालिकामा ३७, हुप्सेकोट गाउँपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२ र बौदीकाली गाउँपालिकामा आठ जना नयाँ क्षयरोगी भेटिएको चापागार्इंले बताउनुभयो ।

“जिल्लामा गत आर्थिक वर्षको असार मसान्तसम्म पाँच सय २९ जना क्षयरोगी फेला परेका थिए भए भने १९ जनाको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा चार सय १६ मा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”

क्षयरोगको उपचारका लागि जिल्लामा ४४ डट्स केन्द्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर ९ड्रक रेसिस्टेन्ट० होस्टेल रहेको छ । जहाँ अन्य जिल्लाका क्षयरोगीको पनि आवासीयरूपमा उपचार गर्ने गरिएको छ । गण्डकी प्रदेशमा डिआर होस्टेल नवलपुरसँगै बाग्लुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा सात सय ४९ डट्स केन्द्र रहेको छ ।

“जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”, स्थानीय स्रोत व्यक्ति तिवारीले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”

क्षयरोग एक सरुवा रोग हो । यो माइकोब्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएकोसमेत उहाँले बताउनुभयो ।

विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामी रहेका छन् । तीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इन्डोनेशिया, सात दशमलव चार प्रतिशत चीन र सात प्रतिशत फिलिपिन्समा रहेका छन् ।

प्रत्येक वर्ष मार्च २४ तारिखका दिन मनाइँदै आइएको विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदैछ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हामी क्षयरोग अन्त्य गर्छौं’ तय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>